लुम्बिनीमा २२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान

काठमाडौं, साउन २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्री चयनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले साउन २८ गते दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको दावी गर्न आह्वान गरेका हुन् ।

लुम्बिनीमा अब संविधानको धारा १६८ को उपधारा २ बमोजिमको बहुमतको सरकार गठन हुनेछ । यसमा दुई वा दुईभन्दा धेरै दलको समर्थनमा सरकार बन्न सक्नेछ । नयाँ मुख्यमन्त्रीका लागि अहिलेको विपक्षी गठबन्धनबाट कुलप्रसाद केसीले दावी गर्नेछन् । उनी माओवादी केन्द्र संसदीय दलका नेता हुन् । शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दा केसीको नाम सिफारिस भएको छ ।

केसी पूर्वमन्त्री भइसकेका व्यक्ति हुन् । उनको पक्षमा अहिले ४१ सांसद देखिएका छन् । कांग्रेस, माओवादी, जनता समाजवादी र जनमोर्चाको साथ उनले पाएका छन् ।

मुख्यमन्त्रीबाट पोखरेलले बुधबार राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाअघि बढाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्