तत्काल महाधिवेशन सुरु नगरे धर्ना र अनशन थाल्ने कांग्रेस युवा नेताहरूकोे चेतावनी , बुझाए ज्ञापनपत्र

काठमाडौं, साउन २८ । नेपाली कांग्रेसका युवा नेताहरूले समयमै महाधिवेशन सम्पन्न गर्न दबाब दिँदै ज्ञापनपत्र बुझाएका छन् ।

‘सबल कांग्रेस निर्माणका लागि युवा अभियान’ले सभापति शेरबहादुर देउवालाई भेटी समयमै महाधिवेशन गरेर पार्टीको वैधानिकता जोगाउन तीनबुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउँदै उनीहरूले समयमै महाधिवेशन सुरु नभए देशभर धर्ना, अनशनलगायतका विरोधका कार्यक्रम थाल्ने चेतावनी दिएका छन् ।

ज्ञापनपत्र बुझाउन नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वसभापति रञ्जित कर्ण, नेविसंघकी महामन्त्री उर्मिला थपलिया, अर्का महामन्त्री दीपक भट्टराई, डिल्लीराम सुवेदी, रमेश महतलगायतका युवा नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । भेटमा महाधिवेशन सुनिश्चित नभएसम्म आफूहरूले निरन्तर खबरदारी गरिरहने बताएको महामन्त्री भट्टराईले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले महाधिवेशन हुने क्रममा रहेकाले यसलाई अनावश्यक रूपमा विरोध नगर्न आग्रह गरेको युवा नेताहरूले जानकारी दिए ।

‘महाधिवेशन हुने क्रममा छ । महाधिवेशन हुने देखेपछि जस मात्रै लिन यसरी विरोध गर्नु राम्रो होइन,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले भने ।ज्ञापनपत्रमा तत्काल क्रियाशील सदस्यताको टुंगो लगाएर महाधिवेशन सुरु गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्