लाइसेन्सको परीक्षा भदौमा पनि नखुल्ने, १३ लाख लाइसेन्स लिने प्रतिक्षामा

काठमाडौं , साउन २८ । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)का लागि लिइने परीक्षा भदौमा पनि नखुल्ने भएको छ ।

यसअघि यातायात व्यवस्था विभागले १ भदौदेखि लाइसेन्सका लागि लिइने लिखित तथा प्रयोगात्मक परीक्षा र परीक्षाका लागि आवेदन खोल्ने तयारी गरेको थियो । त्यसै अनुसार लाइसेन्सको परीक्षा खुल्ने आशामा झण्डै ६ लाख आवेदकले परीक्षाको तयारी गरिरहेका थिए ।

तर, पछिल्लो समय कोभिड–१९ को नयाँ संक्रमण तीव्र रुपमा फैलिएकोले भदौमा पनि परीक्षा सञ्चालन गर्ने नसकिने अवस्था रहेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

सवारी चालक अनुमति पत्र लिनका लागि प्रत्येक वर्ष ६ लाख भन्दा बढी युवा तयार हुने गरेका छन् । १८ वर्ष उमेर पुगेपछि लाइसेन्स लिन पाउने व्यवस्था छ । तर, नियमित रूपमा परीक्षा सञ्चालन हुन नपाउँदा लाइसेन्सका प्रतिक्षार्थीहरू बढ्दै गएका छन् ।

निषेधाज्ञाअघि नै करिब ६ लाख जनाले लाइसेन्स परीक्षाका लागि आवेदन दिएका छन् । झण्डै ७ लाख जना लाइसेन्स लिनका लागि आवेदन दिन तयार भएर बसेको विभागको अनुमान छ । यसआधारमा हाल देशभर झण्डै १३ लाखले नयाँ लाइसेन्स लिन प्रतिक्षा गरिरहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्