ओलीमा अहंकार अझै उस्तै रहेछ : गगन थापा

काठमाडौं, साउन २८ । सत्तारुढ नेपाली कांग्रेसका सांसद् गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको अहंकार अहिले पनि उस्तै रहेको बताएका छन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीको अहंकारको जवाफ शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो कामबाट दिनुपर्ने उनको भनाइ छ ।

आज प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले नेकपा एमालेसहितका विपक्षी सांसद्हरुले सरकारलाई गरेको प्रश्नलाई गम्भीरतापूर्वक लिएर कामबाट जवाफ दिनुपर्ने औंल्याए ।

थापाले पूर्व प्रधानमन्त्री ओलीले यही साउन २६ गते प्रमुख प्रतिपक्षी नेताका रुपमा संसदमा गरेको सम्बोधनमा अझै पनि अहंकार बाँकी रहेको टिप्पणी गरेका छन् ।

सरकारले प्रतिपक्षले सोधेका हरेक प्रश्नको जवाफ दिनुपर्ने उनले बताए । बैठकमा पनि विपक्षीहरुले गम्भीर प्रश्न उठाएको भन्दै सरकारको ध्यान यसले तान्नुपर्ने टिप्पणी गरेका छन् ।

साथै यता थापाले विपक्षीले प्रश्न उठाइरहँदा पनि मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएकोमा असन्तुष्टि जनाएका छन् ।

थापाले देउवा प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना बित्दा पनि मन्त्रिमण्डल विस्तार नगरेको भन्दै असन्तुष्टि पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्