काँग्रेस केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा, अझै अन्योलमा महाधिवेशन

काठमाडौं, साउन २१ नेपाली काँग्रेसको केन्द्रीय कार्यालय आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको छ । पार्टीको क्रियाशील सदस्यता सम्बन्धी विवाद पार्टी नेतृत्वले सम्बोधन नगरेका कारण सानेपास्थित काँग्रेस केन्द्रिय कार्यालय विगत एक महिनायता आफ्नै पार्टीका नेता, कार्यकर्ताको घेराबन्दीमा परेको हो ।

३४ दिनयता लगातार क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानविन गर्ने आफूहरुको माग अझै सम्बोधन नभएकाले पार्टी केन्द्रिय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनु परेको नेपाली काँग्रेस बाराका नेता उपेन्द्र यादवले बताए । उनले आफूहरुलाई न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनी समेत दिए ।

उता, ३० दिनयता पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता, कार्यकर्ताहरूले पार्टीको विधि र विधान विपरित क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा आफूहरु पार्टी केन्द्रिय कार्यालयमा धर्ना दिने कामलाई जारी राख्न बाध्य हुनु परेको बताएका छन् । जिल्ला कार्य समिति रौतहटका कोषाध्यक्ष रामश्रीष प्रसाद साहले विधि र विधान विपरित गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म आफूहरुको धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताए ।

उता, कैलाली क्षेत्र नम्बर १ का काँग्रेस नेता, कार्यकर्ताहरूले पार्टी केन्द्रले आफूहरुको माग सम्बोधन नगरेसम्म धर्नासहितको विरोधका कार्यक्रमलाई निरन्तरता दिने प्रतिक्रिया दिएका छन् । कैलाली क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीले क्रियाशील सदस्यता वितरणमा आफूहरुमाथि गरिएको अन्यायको तत्काल सम्बोधन नभई धर्ना कार्यक्रमलाई अन्त्य गर्न नसकिने स्पष्ट पारे । उनले पार्टीको जारी केन्द्रिय कार्य समितिले आफूहरुको मागलाई सम्बोधन गर्ने आशा समेत व्यक्त गरे ।

नेपाली काँग्रेसको क्रियाशील सदस्य सम्बन्धमा देखिएको विवादका कारण पार्टीको वडा तहको अधिवेशन समेत रोकिएको छ । पार्टीको तल्लो तहको अधिवेशन रोकिएपछि आगामी भदौ १६–१९ काठमाडौंमा हुने काँग्रेसको १४ औं महाधिवेशन पछि सार्नुपर्ने बाध्यात्मक अवस्थामा पुगेको छ ।

यता नेताहरूबीच सहमति नजुटेपछि कांग्रेस महाधिवेशन तोकिएकै मितिमा गर्ने वा सार्ने विषयमा बिहीबार पनि टुंगो लाग्न सकेन । केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशन तोकिएको समयमै हुने वा सर्ने विषयमा बिहीबार निर्णय लिने अपेक्षा गरिएको थियो ।

सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीको परामर्शका आधारमा भदौ २३ भित्र वडा तहको निर्वाचन सुरु गराएर मंसिरसम्म केन्द्रीय महाधिवेशन हुने गरी कार्यतालिका ल्याउन खोजेका छन् । तर, वरिष्ठ नेता रामचन्द्र पौडेलको असहमतिका कारण देउवाले कार्यतालिका प्रस्ताव गर्न सकेका छैनन् । पार्टीको वैधानिकता जोगाउन प्रक्रिया छोट्टयाएर पनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने पौडेलको अडान छ ।

भदौ २३ भित्र महाधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति आउन नसके कांग्रेसको वैधानिकता नरहने टिप्पणी पौडेल र उनी पक्षीय केही नेताहरूको छ । संस्थापन पक्षीय एक नेताका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितका पदाधिकारीको टोलीले भदौ २३ भित्र प्रक्रिया सुरु भएमा केन्द्रीय महाधिवेशन केही पछि सार्दा वैधानिक संकट नआउने सुझाव प्रधानमन्त्री देउवालाई दिएका छन् । देउवाले त्यही सुझावका आधारमा कार्यतालिका ल्याउन चाहेका थिए । तर, पौडेल पक्ष उक्त प्रस्तावमा तयार नभएपछि बैठकमा पार्टी समायोजन समिति र क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन तथा निर्वाचन समितिको निर्देशिकाका विषयमा मात्रै छलफल भएको थियो ।

छलफलमा सदस्यता छानबिन समितिका प्रवक्ता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तोकिएकै मितिमा महाधिवेशन गराउने गरी समितिले काम गरे पनि नेताहरूमा इच्छाशक्ति नदेखिएको भनाइ राखेका थिए । महामन्त्री पूर्णबहादुर खड्काले महाधिवेशनको कार्यतालिका सहमतिबाट ल्याउने बताउँदै प्रतिवेदनमाथिको छलफल सुरु गराएका थिए ।

समितिले विवाद रहेका देशभरका १ सय ६३ वडाका नयाँ क्रियाशील सदस्यताको विवाद स्थगन गरेको छ । ती ठाउँमा पुरानै सदस्यबाट निर्वाचन गराउने समझदारी छ । अन्य पार्टीबाट कांग्रेसमा आएकाको समायोजनका लागि वितरित सदस्यतामध्ये रसुवा, बारा, सप्तरी, सिन्धुपालञ्चोक, सर्लाही–२ र धनुषा–४ मा विवाद छ ।

कांग्रेस संस्थापन पक्षका नेताहरूको अनौपचारिक बैठकमा हुम्लाको नाम्खामा नेपाली भूमि अतिक्रमणसम्बन्धी विषय उठेको छ । सभापति देउवासमेत उपस्थित बुधबारको बैठकमा पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र पूर्वमन्त्री जीवनबहादुर शाहीले ‘चीनले अतिक्रमण गरेको हुम्लाको नाम्खा’ सम्बन्धी विषय संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा नसमेटिएको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्