भारतमा दैनिक संक्रमितमा कमी

काठमाडौं, भदौ १ । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्यामा मंगलबार धेरै कमी आएको छ ।

पछिल्लो २४ घण्टामा २५ हजार १६६ नयाँ संक्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ । एकै दिनमा कोरोना संक्रमित थपिएका यो संख्या गत १५४ दिनयताकै सबभन्दा कम हो ।

भारतमा पछिल्लो समय दैनिक संक्रमितको संख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको छ ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ६९ हजार ८४६ रहेको स्वास्थ्य मन्त्रालयले मंगलबार बिहान जनाएको छ । यो संख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय संक्रमितको यो संख्या कूल संक्रमितमध्येको १।१५ प्रतिशत हो ।

भारतमा अहिलेसम्म कूल संक्रमितको संख्या तीन करोड २२ लाख ५० हजार ६७९ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३६ हजार ८३० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त भएकाको कूल संख्या तीन करोड १४ लाख ४८ हजार ७५४ पुगेको छ । कूल संक्रमितमध्ये ९७।५१ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल संख्या चार लाख ३२ हजार ७९ रहेको छ भने तीमध्ये ४३७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

यही अगस्त १६ सम्ममा भारतमा ४९ करोड ६६ लाख २९ हजार ५२४ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १५ लाख ६३ हजार ९८५ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो ।

भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५५ करोड ४७ लाख ३० हजार ६०९ डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ८८ लाख १३ हजार डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। रासस

प्रतिक्रिया दिनुहोस्