टेलिकमको आन्दोलन स्थगन, व्यवस्थापन-कर्मचारीबीच २९ बुँदे सहमति

काठमाडौं, भदौ १३ । नेपाल टेलिकम व्यवस्थापन र आन्दोलनरत कर्मचारीहरुबीच सहमति भएको छ । उनीहरुबीच २९ बुँदे सहमति भएको हो । योसँगै अब कर्मचारीले आन्दोलन नगर्ने भएका छन् । साउन पहिलो सातादेखि विभिन्न माग राखेर टेलिकमको मुख्यालय कर्मचारीले घेराउ गर्दै आएका थिए । सहमति पछि टेलिकममा क्रियाशील तीन वटा ट्रेड युनियनहरुले आइतबारदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्।

कम्पनीमा तह ११ मा पाँच वर्ष र तह १० मा आठ वर्ष सेवा अवधि पुगेपछि स्वतः अवकाश हुने व्यवस्था कम्पनीको कर्मचारी विनियमावली, २०७८ मा कायम गर्नेगरी विनियमावली संशोधन गर्न लोकसेवा आयोगमा पत्राचार गर्ने सहमति भएको छ।

मन्त्रिपरिषद्बाट कम्पनीको कुनै कर्मचारी प्रबन्ध निर्देशक नियुक्त भएमा नियुक्त भएको मितिदेखि कम्पनीको सेवाबाट स्वतस् अवकाश हुने व्यवस्था विनियमावलीबाट हटाउन आयोगलाई लिखित रुपमा पत्रचार गर्ने सहमति भएको छ।

यस्तै, २०६६ कात्तिक एक पछि कम्पनीको स्थायी सेवामा नियुक्ति पाएका कर्मचारीहरुलाई विनियमको दफा १४४(२) को सूत्र सरह हुने गरी योगदानमा आधारित निवृत्तिभरण उपलब्ध गराउने सहमति भएको छ। निवृत्तिभरण कोषबाट निवृत्तिभरणका साथै अन्य सुविधाहरु २०६६ कात्तिक एक अघि नियुक्त भएका कर्मचारी सरह नै उपलब्ध गराउन लोकसेवालाई पत्राचार गर्ने सहमति भएको छ।

टेलिकमको सञ्चालक समितिले पारित गरेको कर्मचारी विनियमावलीप्रति असन्तुष्ट कर्मचारी युनियन केहि महिनादेखि आन्दोलरत थिए । नेपाल दूसरसञ्चार राष्ट्रिय कर्मचारी संगठन, नेपाल टेलिकम वकर्स युनियन, नेपाल टेलिकम कर्मचारी युनियन संयुक्त रुपमा टेलिकम व्यवस्थापनविरुद्ध आन्दोलित थिए ।

टेलिकमको कर्मचारी विनियमावलीले कर्मचारीहरुको ट्रेड युनियन अधिकार नै कटौती हुने भएपछि कर्मचारीहरु विरोधमा उत्रिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्