अमेरिकामा आँधीसँगै भीषण बाढी : ३ नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु

काठमाडौं, भदौ १८ । अमेरिकाका विभिन्न राज्यमा आइडा आँधीसँगै आएको बाढीका कारण ३ जना नेपाली नागरिकसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अमेरिकास्थित युनाइटेड शेर्पा एसोसियसनका अनुसार न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नम्बर ३ जुनबेसी स्थायी घर भएका आङगेलु लामा, श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको मृत्यु भएको एसोसियसनले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्क र न्यु जर्सीमा भारी वर्षा भएको छ । न्युयोर्कमा मात्रै बाढीमा परी १४ जनाको मृत्यु भएको छ । त्यसमध्ये ११ जनाको बेसमेन्टमा डुबेर मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी न्युजर्सीका गभर्नर फिल मर्फीका अनुसार राज्यमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको गाडी बाढीमा डुबेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै पेन्सिल्भानियामा ५ जनाको मृत्यु भएको छ भने मेरिल्यान्ड र भर्जिनियामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युजर्सी र न्युयोर्कमा आपत्काल घोषणा गरेका छन् । उनले दुवै राज्यमा उद्धार र राहतका लागि संघीय सहयोग गर्न पनि आदेश दिएका छन् । न्युयोर्कमा सन् १९२७ पछि ठूलो वर्षा भएको हो । सेन्ट्रल पार्कमा ७.१३ इन्चसम्म वर्षा रेकर्ड भएको थियो । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सन् १९२७ मा ३.८४ इन्च वर्षा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्