माधव नेपालविरुद्ध केपी ओलीको रिट ‘हेर्न नभ्याइने’ मा , कुलमानको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ पनि सर्‍यो

काठमार्डाैं, भदौ २० । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ आइतवार पनि स्थगित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बेन्चमा सुनुवाइ तोकिएको मुद्दालाई सर्वोच्च अदालतले हेर्न नभ्याइनेमा राखेको हो ।

प्रधानन्यायाधीशको इजलासमा आइतबारका लागि १४ वटा मुद्दा तोकिएका थिए। तिनमा पहिलो र दोस्रो नम्बरका बन्दी प्रत्यक्षीकरणका रिटमा मात्रै सुनुवाइ भएको हो।

त्यस्तै कुलमान घिसिङलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनाएपछि हितेन्द्र देव शाक्यले हालेको रिट पनि हेर्न नभ्याइनेमा परेको छ।नयाँ दल दर्ताविरुद्ध ओलीले वारिसनामामार्फत भदौ १७ गते तीनवटा रिट दर्ता गराएका थिए।

रिटमा एमालेले कारबाही सिफारिस गरेका १४ सांसदलाई पदमुक्त गरिसकेको अवस्थामा निर्वाचन आयोगले मान्यता दिएर नयाँ पार्टी दर्ता गर्नु असंवैधानिक रहेको जिकिर गरिएको छ ।

रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लगायतलाई विपक्षी बनाइएको थियो।

रिटमा एमालेले १४ सांसदलाई पदमुक्त गर्न अन्तरिम आदेश पनि माग गरेको थियो।  यसअघि शुक्रबार पनि यस मुद्दाको पेशी न्यायाधीश मीरा खड्काको एकल इजलासमा चढेको थियो। शुक्रबार बेन्च बस्न नभ्याएकाले सुनुवाइ रोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्