पुरा भयो गोलकिपर विशालको सपना

काठमाडौँ , २१ भदौ । गोलकिपर विशालले राष्ट्रिय टिमबाट खेल्नका लागि एक दशक प्रतीक्षा गरे । आइतबार घरेलु मैदान दशरथ रंगशालमा घरेलु समर्थककमा माझ विशालले राष्ट्रिय फुटबल टिमका लागि डेब्यु गरे । र नेपालको सिनियर टिमको लागि खेल्ने सपना पूरा गरेका छन् ।

घरेलु फुटबलको शीर्ष लिग जितिसकेका विशाल श्रेष्ठ उत्कृष्ट गोलकिपरका रुपमा रहन सफल भएका छन् । विशाल नियमित जसो राष्ट्रिय टिममा परे पनि खेल्न पाएका थिएनन् । त्यो पनि एक दुई खेल होइन, एक दशकदेखि उनी राष्ट्रिय टिममा छन् तर खेल्न पाएका थिएनन् ।

तर आइतबारको दिन भने विशालकै लागि जस्तो भयो । हुनत नेपालका कप्तान तथा नम्बर वान गोलकिपर किरण चेम्जोङले आइतबार भारतविरुद्ध खेलेपछि नेपालका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाए । उनले ७४ क्याप जिते । किरणले पूर्वकप्तान विराज महर्जनको ७३ खेलको कीर्तिमान तोडेका छन् ।

उनै कीर्तिमानी खेलाडी किरणलाई रिप्लेस गर्दै विशालले घरेलु मैदानमा डेब्यु गरे । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ८६ औं मिनेटमा विशालाई किरणको स्थानमा मैदान पठाए । डेब्यु गरेपछि विशालले अभिव्यक्त गर्ने शब्द नै नभएको बताए । ‘मसँग कुनै शब्द नै छैन । यसैका लागि प्रतीक्षा गरिरहेको थिएँ । सानैदेखिको सपना थियो । त्यो सपना पूरा भएको उनी बताउँछन् ।

विशाल सन् २०११ मा पहिलो पटक राष्ट्रिय टिममा परेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोट अन्तर्गत नेपालले २०११ जुन–जुलाईमा घरेलु मैदानमा टिमोर लेस्टेसँग खेलेको थियो । त्यही खेलमा उनी टिममा पहिलो पटक परे । तर खेल्ने अवसर पाएनन् ।

विशाल पनि चोटका कारण र फर्ममा नहुँदा कुनै बेला राष्ट्रिय टिममा पर्थेनन् । नेपालले गत जुनमा कुवेतमा विश्वकप छनोट खेल्दा पनि विशाल थिएनन् । त्यसअघि घरेलु मैदानमा नेपालले थ्री नेशन्स कपको उपाधि जित्दा पनि उनी टिममा थिएनन् । तर उनले निर्नतर मिहिनेत गरे । धैर्य राखे । हिम्मत हारेनन् । अन्तरगत राष्ट्रिय टिको जर्सी लागएरै छाडे । क्लब फुटबलमा जस्तै उनी राष्ट्रिय टिममा पनि २० नम्बरकै जर्सी लगाएर खेले । पछिल्लो पटक २०७६ सालमा भएको ए डिभिजन लिगमा विशालले मछिन्द्र क्लबबाट लिग जितेका थिए ।

त्यसअघि उनले मनाङ मर्स्याङ्दी क्लबबाट पनि लिग जितेका थिए । ए डिभिजन लिगमा उनी विशालसँगै आइतबार डिफेण्डर राजन गुरुङले पनि राष्ट्रिय टिममा डेब्यु गरे । राजन मनिष डाँगीको स्थानमा विशालसँगै ८६औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्