अर्थमन्त्री शर्माले गभर्नरलाई भने– पुँजी बजारमा देखिएको समस्या समाधान गर्नुस्

काठमाडौं, भदौ २१ । सेयर बजारमा देखिएको पछिल्लो परिस्थिति समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन्।

सोमबार अर्थमन्त्री शर्माले टेलिफोन गरेर पुँजी बजारको पछिल्लो परिस्थितिबारे ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ।

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका हुन्।

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरेका थिए। उनले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई आग्रह गरेको शर्माको सचिवालयले बताएको छ।

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्। यसैबीच सेयर बजारमा सेलिङ प्रेसर बढेसँगै लगानीकर्ता प्रदर्शनमा उत्रिएका छन्। सोमबार गभर्नरको राजीनामा माग्दै लगानीकर्ताहरू बालुवाटार पुगेका हुन्।

प्रतिक्रिया दिनुहोस्