राष्ट्र बैंकलाई पुँजी बजार सुधार संघर्ष समितिको ज्ञापनपत्र, माग पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी

काठमाडौं, भदौ २१ । पुँजी बजार सुधार संघर्ष समितिले राष्ट्र बैंकलाई ज्ञापनपत्र बुझाएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सिलिङ हट्नुपर्नेलगायतका विभिन्न माग राख्दै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

संघर्ष समितिले विभिन्न नीतिमार्फत आफूहरूलाई पिल्साउन खोजिएको भन्दै १८बुँदे माग राखी सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देवकुमार ढकालसमक्ष ज्ञापनपत्र बुझाएको हो।

ज्ञापनपत्रमा लघुवित्त कम्पनीहरूले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङको व्यवस्था परिमार्जन गर्नुपर्नेलगायतका विभिन्न माग राखिएको छ।

“नेपाल राष्ट्र बैंकबाट पुँजी बजारको अस्तित्वनै धरापमा पार्न नियोजित रुपमा तयार गरिएका नीति कार्यक्रम र कार्यनीतिहरुले समग्र पुँजीबजार अघि बढ्न सकिरहेको छैन । त्यसकारणले गभर्नरज्यूको तत्काल र राजिनामाको माग गर्दछौं,” ज्ञापनपत्रमा भनिएको छ ।

त्यस्तै तत्कालीन अर्थमन्त्रीद्वारा पारित गरिएको ५८ बुँदे सहमतिलाई अक्षरस पालना गर्न पनि माग गरिएको छ । आफूहरूको माग पूरा नभएसम्म निरन्तर आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन्। माग पूरा नभए भदौ २३ गतेदेखि २९ गतेसम्म रिले अनशन बस्ने र ३० गतेदेखि आमरण अनशन बस्ने साना लगानीकर्ता आदित्य सिवाकोटीले बताए।

समितिले नेपाल राष्ट्र बैंकअगाडि ‘१२० दिनको औसत मूल्य कायम गर’, ‘सेयर बजार जुवा होइन जीविका हो’, ‘गभर्नरलाई बर्खास्त गर’ लगायतका प्लेकार्ड तथा ब्यानरसहित प्रदर्शन र नाराबाजी गरेको थियो।

यता सेयर बजारमा देखिएको पछिल्लो परिस्थिति समाधान गर्न अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन्।

सोमबार अर्थमन्त्री शर्माले टेलिफोन गरेर पुँजी बजारको पछिल्लो परिस्थितिबारे ध्यानाकर्षण गराएको उनको सचिवालयले जनाएको छ। जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्