कांग्रेस अधिवेशन : २१ जिल्लाको क्रियाशील विवाद अझै टुंगिएन

काठमाडौं, भदौ २२ । कांग्रेसले क्रियाशील सदस्यता टुंग्याएर विवरण दिएका ५६ जिल्लामध्ये ५ जिल्लामा मंगलबार वडा अधिवेशन भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । मंगलबार गुल्मी, रोल्पा, प्युठान, कालीकोट र दार्चुलामा अधिवेशन भएको हो ।

निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले क्रियाशील सदस्यता टुंगो लागेका ५६ मध्ये ४८ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको जानकारी दिएका छन्।

१८ गतेबाट सुरु भएको वडा अधिवेशन ४ दिन बितिसक्दापनि २० जिल्लाको क्रियाशील सदस्यताको नामावली वेबसाइटमा हाल्न सकेको छैन। प्रदेश १ मा केन्द्रीय सभापतिको आकांक्षी डा।शेखर कोइरालाको गृहजिल्ला मोरङको सदस्यता अझै सार्वजानिक हुन सकेको छैन।

त्यस्तै प्रदेश दुईको ८ वटै जिल्लाको नामावली आउन सकेको छैन । सप्तरी, सिराहा, रौतहट, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्सा गरी आठवटै जिल्लाको क्रियाशील सदस्यता टुंगिएको छैन। धनुषा जिल्ला सभापतिका उम्मेदार बिमलेन्द्र निधिको गृह नगरपनि हो।

यसैगरी बागमती प्रदेशका काठमाडौंसहित काभ्रेपलाञ्चोक सिन्धुपाल्चोक, र रसुवा गरी चार जिल्लाको क्रियाशील सदस्यतापनि वेबसाईटमा आउन सकेको छैन । काठमाडौं सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंहको गृहजिल्ला हो।

गण्डकी प्रदेशका भने,सबै जिल्लाको सदस्यता सूची सार्वजनिक भइसकेको छ। लुम्बिनी प्रदेशका कपिलवस्तु, बाँके र बर्दियाको सूची सार्वजनिक हुन सकेको छैन। कर्णाली प्रदेशका डोल्पा र सुर्खेतको विवाद मिल्न सकेको छैन।

सुर्खेत जिल्ला महामन्त्री पूर्ण बहादुर खड्काको गृहजिल्ला पर्छ। त्यसैगरी उता सुदूरपश्चिम प्रदेशका बाजुरा, डढेल्धुरा र कैलालीको पनि विवाद टुंगिएको छैन। डढेल्धुरा भने, सभापति शेरबहादुर देउवाको गृहजिल्ला हो।

प्रतिक्रिया दिनुहोस्