आज ४४ अङ्कले घट्यो नेप्से

काठमाडौं, भदौ २२ ।  शेयर बजारमा दैनिक ठूलो उतारचढाव हुन थालेको छ । गएको आइतवार एक सय आठ अङ्कले घटेको शेयर बजार हिजो सोमवार एक सय ६२ अङ्कले बढेको थियो । तर आज मङ्गलवार फेरि नेप्से ४४ अङ्कले घटेको छ ।

अन्य र सामूहिक लगानी कोषबाहेक सबै समूहको शेयर ओरालो लागेपछि आज नेप्से ४४ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय ३६ दशमलव ६० विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको शेयर ३३ अङ्कले, विकास बैंक समूहको ७२, व्यापारको ५४ र जलविद्युत् समूहको शेयर ५१ अङ्कले घटेको छ । यस्तै फाइनान्स समूहको ४९, माइक्रोफाइनान्सको एक सय ४६, जीवन बीमाको तीन सय दुई, निर्जीवन बीमा समूहको शेयर दुई सय ९० र उत्पादन समूहको शेयर एक सय ३३ अङ्कले घटेको छ ।

आज आरएमडीसी लघुवित्त र रुरु जलविद्युत् कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घट्दा पनि सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज दुई सय २२ कम्पनीका एक करोड ५० लाख कित्ता शेयर सात अर्ब ४९ करोड ५८ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै युनाइटेड मर्दी हाइड्रोको ६१ करोड ९२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रतिक्रिया दिनुहोस्