फिल्म नहुँदा हलहरू सञ्चालनमा आउन सकेनन्

काठमाडौं, भदौ २२ । सरकारले फिल्म हल खोल्ने अनुमति दिए पनि हलहरू भने सञ्चालनमा आउन सकेका छैनन् । अहिले पनि फिल्मीनगरी उत्साहित हुन सकेका छैनन् ।

कोरोना भाइरस संक्रमणको दोस्रो लहरबाट विस्तारै जीवनयापन सामान्य हुँदै गर्दा सरकारले अनुमति दिए पनि फिल्म नहुँदा हल सञ्चालनमा आउन नसेका हुन् ।

रिलिजका लागि तयार फिल्महरूसँग आपसी कुरा नमिल्दा निर्माताहरु अगाडि आउन सकेका छैन । लप्पन छप्पन २, प्रेम गीत ३, म यस्तो गीत गाउँछु २ फिल्म प्रदर्शनका लागि तयार छन् । लप्पन छप्पन २ र म यस्तो गीत गाउँछु २ प्रदर्शनको लागि डेट तय गरेर प्रचारप्रसार गरिसकेको भए पनि कोरोना भाइरसको कारण रिलिज हुन सकेको छैन ।

लप्पन छप्पन २ ले कोरोना भाइरसको पहिलो लहर सकिएपछि रिलिजको तयारी गरेको थियो । तर, दोस्रो लहरको कारण त्यो पनि सर्‍यो । ‘यतिबेला हामी रिलिज गर्ने विषयमा छलफलमै छौँ । तर, निर्णय लिएका छैनौ’, फिल्मका निर्मातामध्येका एक प्रकाश कुँवरले बताए । उनले अघिल्लो समयमा पटक–पटक रिलिज डेट हेरफेर भएकाले अब सबैसँग सल्लाह गरेर मात्र रिलिज मिति घोषणा गर्ने बताए ।

‘हामीले प्रचारप्रसार गरेर पनि फिल्म सार्नुपर्‍यो । कोरोनाभाइरसले महामारीको रूप लियो, त्यसैले अब वितरक र प्रदर्शकसँग छलफल गरेर लिने निर्णय अन्तिम हुनेछ’, उनले भने । नेपाली फिल्मको स्तरोन्नति होस् भन्ने उद्देश्यकासाथ आफ्नो टीम फिल्म निर्माणमा आएको उनले बताए ।

‘हाम्रो फिल्मको बजेट बढी छ , झन् कोरोनाभाइरसको कारणले यसलाई धेरै बढाएको छ’, निर्माता कुँवर भन्छन्, ’हामी राम्रो फिल्म दर्शकसामु ल्याउन तत्पर छौँ ।’ उनले वितरक र प्रदर्शकले साथ दिए आफू र आफ्नो टीम फिल्म रिलिजको लागि तयार रहेको बताए ।

उनी आफ्नो टीमसहित यतिबेला ’एक्स नाइन’को प्रि– प्रोडक्सनमा व्यस्त छन् । फिल्मलाई मुकुन्द भट्टले निर्देशन गर्दैछन् भने लप्पन छप्पन सिरिजका निर्देशक पनि भट्ट नै हुन् । पैसा, सत्ता र शक्तिको चलखेलका बिषयबस्तु समेटिएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, स्वर्गीय दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय फिल्ममा रहको छ ।

खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना, रन्जीत वन्तलगायतले अभिनयमा डेब्यु गर्दैछन् ।

कथा र संवादसमेत निर्देशक भट्ट र सुनिल नेउरेको रहेको फिल्ममा पटकथा अमित शर्माको छ । पुरूषोत्तम प्रधानको छायाँकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, एमआर आरजे, दीपक आरजे र बुलेट फ्लोको संगीत रहेको फिल्मलाई नेपालीसँगै अन्य भाषामा पनि रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माता रहेको फिल्ममा समीर खरेल क्रियटिभ निर्माताको रुपमा छन्, भने सह–निर्मातामा राजीव तामाङ लगायत छन् । गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा फिल्म निर्माण भएको हो ।

प्रतिक्रिया दिनुहोस्