राजनीतिमा आए देउवाका छोरा जयवीरसिंह

काठमाडौँ , २३ भदौ । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा पनि राजनीतिमा आएका छन्।

जयवीरसिंहले यसपालि डडेल्धुराबाट क्रियाशील सदस्यता लिएका हुन्। डडेलधुरा देउवाको गृह जिल्ला हो । जयवीरसिंह देउवाका एक्ला सन्तान हुन्। डडेल्धुराको प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा क्षेत्र ‘ख‘’मा पर्ने गन्यापधुरा गाउँपालिका वडा नम्बर १ बाट यसपालि जयवीरसिंह पनि क्रियाशील सदस्य छन्।

उक्त वडाको नयाँ क्रियाशील सदस्यता सूचीको १६६ नम्बरमा जयवीरसिंहको नाम रहेको छ । कांग्रेसबाटै निर्वाचित गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चेतराम भट्टले जयवीरसिंह पनि क्रियाशील सदस्य रहेको बताए।

कांग्रेसले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको क्रियाशील सदस्यताको सूचीमा जयवीर सिंह देउवाको नाम छ। उनकाअनुसार जयवीरसिंह गाउँ भने आएका छैनन्। भदौ १८ मा अधिवेशन गर्ने भने पनि २५ गतेका लागि सारिएको भट्टले बताए।

वडाबाट क्षेत्रीय प्रतिनिधि चयन भए भने जयवीरसिंह यसपालि महाधिवेशन प्रतिनिधि आउने सम्भावना रहन्छ। तर उनी यसैपालि महाधिवेशन प्रतिनिधि आउने तयारीमा छैनन्। उनी यसअगाडि कांग्रेसका कुनै पनि भातृ संस्थामा आवद्ध रहेर संगठनमा काम गरेका थिएनन्।

कांग्रेस सभापति देउवाको क्रियाशील सदस्यता पनि गन्यापधुरा वडा नम्बर १ बाटै छ। ‘सभापतिज्यूको पनि यहीँबाटै नाम छ। उहाँका छोरा जयवीर पनि यसैपालि क्रियाशील सदस्य हुनुभयो,’ भट्टले भने।

सभापति देउवा भने क्षेत्रीय प्रतिनिधि हुँदै महाधिवेशन प्रतिनिधि भइराख्नु पर्दैन। पदाधिकारी र केन्द्रीय सदस्य स्वत महाधिवेशन प्रतिनिधि हुने गरी कांग्रेसले विधान बनाएको छ।

क्रियाशील सदस्य बनेसँगै जयवीर सक्रिय राजनीतिमा आउने अनुमान गरिएको छ। २६ वर्षीय जयवीरले यसअघि बेलायतमा पढिरहेका थिए। युनिभर्सिटी अफ योर्कबाट उनले राजनीति शास्त्रमा एमए गरेका छन्।कांग्रेसमा यसपालि ९ लाख क्रियाशील सदस्य छन् तीमध्ये तीन लाख हाराहारीमा युवाहरू समेटिएका छन्।

डडेल्धुरा कांग्रेस सभापति कर्णबहादुर मल्लले पनि जयवीरसिंह यसपालि क्रियाशील सदस्य भएको बताए। ‘राजनीतिमा आउन नै उहाँ क्रियाशील सदस्य हुनुभएको होला,’ उनले भने।

निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले भदौ २५ मा वडा अधिवेशन हुने सूचना निकालेका छन् भने सभापति मल्लले अधिवेशन हुन नसक्ने विज्ञप्ति निकालेका छन्। निर्वाचन अधिकृत बमले एकपक्षिय ढंगले काम गर्ने गरेकोमा अधिवेशन स्थगित गर्नु परेको सभापति मल्ल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्