एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं , भदौ २३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र र बाहिरबाट सत्ता गठबन्धनलाई तोड्ने प्रयास भइरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को २२औँ स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् ।

उनले यथास्थितिमा एमसीसी पारित हुन नसक्ने स्पष्ट पारे । गठबन्धनलाई बचाएर सकारात्मक रूपमा अघि बढ्न तयार रहेको उनले उल्लेख गरे ।

आफूहरूले गठबन्धनलाई बलियो बनाउन चाहे पनि अर्को वर्ग पूरै ताकतका साथ गठबन्धनलाई तोड्ने, प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने खेलमा लागेको आरोप उनले लगाए ।उनले माओवादीहरूलाई घेरा हालेर सिध्याउने षड्यन्त्र भएकाले सचेत रहनुपर्नेमा जोड दिए ।

साथै अध्यक्ष प्रचण्डले नेकपा (एमाले)ले ‘डलर भित्र्याएर पार्टीभित्र गुट–उपगुट बलियो बनाउनु खोजेको’ आरोपसमेत लगाए । उनले सूर्य चिह्न र मदन भण्डारीको नाम प्रयोग गरेर एमाले नेतृत्वले पदका लागि मात्र राजनीति गरेको तर्क गरे ।

एमालेजस्तै हुने हो भने माओवादी पार्टीको आवश्यकता र औचित्य नरहने उृल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्