राष्ट्रिय सभामा एमाले : माधव नेपालसहित १४ जनालाई सांसद मान्नु हुन्न, सभामुखले माफी माग्नुपर्छ

काठमाडौं, २५ भदौ । प्रमुख प्रतिपक्षी एमालेले राष्ट्रिय सभा बैठकमा पनि अवरोध गरेको छ । एमालेका सांसदहरू उठेर अवरोध गरेका हुन् ।

अवरोधका क्रममा बैठकमा बोल्दै एमाले राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले माधव नेपालसहित एमालेले कारबाही गरेका १४ जनालाई सांसदको रूपमा ग्रहण नगर्ने र गल्तीका लागि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले माफी माग्नुपर्ने माग गरे । माग पूरा नभएसम्म सदन चल्न नदिने बताए ।

एमालेको तर्फबाट बोल्दै दाहालले सरकार, सभामुख र निर्वाचन आयोग मिलेर लोकतन्त्र र एमालेलाई कमजोर बनाउने षडयन्त्रमा लागेको आरोप लगाए ।

‘यतिबेला नक्कली प्रजातन्त्रवादी, लोकतन्त्रवादी र सक्कली प्रजातन्त्र, लोकतन्त्रवादीको लडाइँ चलिरहेको छ । नक्कली प्रजातन्त्रवादी, लोकतन्त्रवादीको मुखुण्डो त्यतिखेर उत्रियो, जतिबेला चलिरहेको संसदलाई स्थगित गरेर भोलिपल्ट हतार हतार दल विभाजनसम्बन्धी अध्यादेश ल्याइयो,’ उनले भने, ‘अध्यादेशमात्र ल्याइएन यसअघिको सरकारले ४० प्रतिशत प्रावधानमा र लाई वा बनाएर ल्याएको भन्दा पनि पूरै तयारीका साथ एमाले फुटाउन २० प्रतिशत बनाएर ल्याइयो । हामीले अध्यादेश ल्याउँदा कुनै दल फुटेन । तर अहिले दल फुटाउने र दर्ता गर्ने काम भयो । लोकतन्त्रमा राजनीतिक दल बलियो हुनुपर्छ । तर एमालेलाई कमजोर बनाउने चेष्टा गरियो ।’

दाहालले माधव नेपालसहित १४ जना सांसदको कारबाही पेन्डिङ गर्ने, त्यहीँ आधारमा दल दर्ता गर्ने काम गरेर सभामुख, निर्वाचन आयोग र सरकार एमालेलाई कमजोर बनाउन लागेको, लोकतन्त्रलाई मास्न लागेको आरोप लगाए । ‘हिजो ओलीले त्यस्तै विधेयक ल्याउँदा लोकतन्त्र, प्रजातन्त्र मास्यो भन्नेहरूले अहिले त २० प्रतिशतमा र पनि नराखेर वा भनेर ल्याए,’ उनले भने, ‘प्रजातन्त्र कसले मास्न लागिरहेको छ भन्दा यो परमादेशी सरकार, सभामुख, निर्वाचन आयोगले मिलेर लोकतन्त्र र लोकतन्त्रमा दललाई कमजोर पार्न लागिरहेका छन् । यो विकृति विसंगतिका लागि हामी विरोध जनाइरहेका छौं ।’

१४ जना सांसदलाई एमालेले निकालिसकेको भन्दै दाहालले उनीहरूलाई सांसदको रुपमा ग्रहण गरिनु हुँदैन भने । यसमा भएको कमीकमजोरीका लागि सभामुखले माफी माग्नुपर्ने उनको माग थियो । यसैकारण आफूहरू विरोधमा उत्रिएको र संसद चल्न नदिने जानकारी गराए ।

अवरोधकाबीच दल विभाजनसम्बन्धी अध्यादेश पेश

एमालेको अवरोधका बीच सरकारले राष्ट्रिय सभा बैठकमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेस गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् । अध्यादेश पेस गर्दा एमालेका सांसदहरू उठेर विरोध जनाएका थिए ।

दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए ।

त्यसपछि बैठकले सभासदहरू महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्