भारतमा कोरोना, थप ३३ हजार संक्रमित थपिए

काठमाडौं, भदौ २६ । भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार ३७६ जना संक्रमित थपिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार बिहान दिएको जानकारीअनुसार नयाँ थपिएका संक्रमितमध्ये २५ हजार १० जना केरलाका राज्यमा मात्रै रहेका छन् ।

पछिल्लो समय केरलामा दैनिक संक्रमितको संख्या अत्यधिक धेरै देखिएको छ । भारतका बाँकी भू–भागमा भन्दा केरलामा संक्रमितको संख्या धेरै देखिएको हो ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या तीन करोड ३२ लाख आठ हजार ३३० पुगेको पनि मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट संक्रमित अवस्थामै रहेकाको संख्या तीन लाख ९१ हजार ५१६ रहेको छ ।

त्यसैगरी, भारतमा कोरोनाभाइरसका कारण अहिलेसम्म मृत्यु भएकाको संख्या चार लाख ४२ हजार ३१७ पुगेको छ । तीमध्ये ३०८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

सोही अवधिमा ३२ हजार १९८ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएकाको कुल संख्या भने तीन करोड २३ लाख ७४ हजार ४९७ रहेको छ ।

भारतमा केही हप्तादेखि दैनिक संक्रमितको संख्यामा वृद्धि हुँदै आए पनि पछिल्ला केही दिनमा घटबढ हुने गरेको पाइएको छ । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्