ओलीले भिम रावललाई भने– सुदूरपश्चिममा इन्चार्ज लेखराज भट्ट नै हुन्छन्

काठमाडौं, भदौ २७ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट नै कायम हुने बताएका छन् । उपाध्यक्ष भीम रावलले सहजीकरण गर्ने र भट्ट इन्चार्ज रहने ओलीको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशको समस्याबारे छलफल गर्न उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, नेताहरु भट्ट र कर्ण थापा बालकोट पुगेका थिए ।साथै ओलीले उपाध्यक्ष भीम रावललाई पार्टीलाई जेठ २ मा लैजानका लागि प्रदेशमा सहजीकरण गर्न आग्रह गरेका छन् ।

आज ओली निवास बालकोटमा भएको छलफलमा उनले सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्जको भूमिकामा लेखराज भट्ट रहने भन्दै रावललाई पार्टीको उपाध्याक्षको जिम्मेवारीमा रहेर सहजीकरण गर्न आग्रह गरेका हुन् ।

सुदूरपश्चिममा १० बुँदे लागु गर्ने कार्यदलमा उपाध्यक्ष रावल, भट्ट र सुदूरपश्चिम अध्यक्ष कर्ण थापा छन् । सोही जिम्मेवारीको आधारमा कार्यदलमा राखिएको भन्दै ओलीले काम अघि बढाउन आफूहरूलाई निर्देशन दिएको प्रदेश अध्यक्ष थापाले जानकारी दिए ।

“तपाईंहरूको आ–आफ्नो जिम्मेवारी छ । काम अघि बढेन भन्ने कुरा आएको छ । लेखराज भट्ट इन्चार्ज हुनुहुन्छ । कर्ण थापा अध्यक्ष हुनुहुन्छ,” ओलीले छलफलमा भनेका थिए, “तपाईंले उपाध्यक्षको हैसियतामा त्यसमा संयोजन गर्नुस् । जेठ २ मा जाने ढंगले काम अघि बढाइसकेका छौँ । त्यसमा समस्या छैन ।”

एमालेभित्र सुदूरपश्चिम इन्चार्जका विषयमा विवाद हुँदै आएको छ । सोही विवादका विषयमा छलफलका लागि नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालकोट पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्