सर्वोच्चले एमालेलाई भन्यो–एकीकृत समाजवादीमा जान चाहेका दुई सांसदलाई कुनै कारवाही नगर्नु

काठमाडौं, भदौ २७ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)को सांसद कायम गर्न माग गरेका नेकपा एमालेका दुई सांसदलाई कुनै कारवाही नगर्न आदेश गरेको छ।

न्यायाधीश मीरा खड्काको एकल इजलासले अन्तरकालिन अन्तरिम आदेश लगायतका आदेश जारी गरेको हो।

सर्वोच्चले निर्वाचन आयोगका नाममा सनाखत नगराउनुको कारण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ। निर्वाचन आयोगले नेकपा एकीकृतमा सनाखत गर्न नदिएको भन्दै २३ भदौमा एमाले सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्ट सर्वोच्च पुगेका थिए।

रिटमा निर्धारित समयमा एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको जिकिर गर्दै एमालेले गर्न सक्ने कारबाही रोक्न अन्तरिम आदेश माग गरिएको थियो।अन्तरिम आदेश माग गरेको सम्बन्धमा छलफलका लागि २९ भदौमा पेसी तोकीएको छ।

‘सो दिन उपस्थित हुन विपक्षीहरुलाई सूचना दिनु र सो मितिसम्म निवेदकहरुलाई प्रतिकूल असर पर्ने गरी कुनै काम कारवाही नगर्नू ’ सर्वोच्चको आदेशमा भनिएको छ।

 

प्रतिक्रिया दिनुहोस्