एकीकृत समाजवादीको प्रदेश–२ संसदीय दलको नेतामा महतो चयन

काठमाडौँ , २८ भदौ । नेकपा एकीकृत समाजवादी प्रदेश २ को संसदीय दलको नेतामा शत्रुधनप्रसाद महतो चयन भएका छन् ।

निर्वाचन आयोगबाट राजनीतिक दलको मान्यता पाएलगत्तै नेकपा एकीकृत समाजवादीले नेता चयन गरेको हो । संसदीय दलको नेतामा चयन भएका महतो तत्कालिन नेकपा एमालेबाट धनुषाको क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित भएका थिए ।

संसदीय दलको बैठकले नेता मात्रै चयन गरेको र प्रमुख सचेतकपछि चयन गरिने पार्टीका सांसद अशोक कुमार यादवले जानकारी दिए । यादवका अनुसार केही दिनअघि नै बसेको संसदीय दलको बैठकले नेता चयन गरिएको हो ।

नेकपा एमालेबाट अलग भएर छुट्टै बनेको नेकपा एकीकृत समाजवादीको १३ जना सांसद छन् । १३ जना सांसद एकीकृत समाजवादीमा आउँदा नेकपा एमालेका ८ सांसद मात्रै छन् ।

 

प्रतिक्रिया दिनुहोस्