बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध

काठमाडौँ , २९ भदौ । टेलिकमले आउँदो दशैँसम्ममा बागलुङका सबै गाउँमा फोरजी सेवा उपलब्ध गराउने भएको छ।

मौजुदा टावरहरुको स्तरोन्नति गरेर गाउँ–गाउँमा उच्चगतिको इन्टरनेट र भ्वाइससहितको सेवा विस्तार थालिएको हो । बजार क्षेत्र र बाक्लो बस्ती भएका ठाउँमा उक्त सेवा विस्तार गरिसकेको टेलिकमले गाउँका कुना–कुनामा फोरजी सेवा पुग्ने गरी बिटिएस टावरको स्तरोन्नति थालेको हो ।

“अहिले दमेक, अर्गल, राङ्खानी, पातिहाल्ने र जलजलाको टावर स्तरोन्नतिको काम भइरहेको छ”, प्रमुख शर्माले भने, “दशैँसम्ममा पाँचवटै टावरको काम सकिन्छ, त्यसपछि लगभग जिल्लाभरि नै फोरजी सेवा उपलब्ध हुन्छ ।

त्यस्तै मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ ।

उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति गरेर टेलिकमले दर्शनार्थीका लागि सहज सञ्चार सेवा उपलब्ध हुने वातावरण बनाएको टेलिकम बागलुङका प्रमुख केशव शर्माले जानकारी दिए । उनका अनुसार दामोदरकुण्ड गाउँपालिकामा पर्ने घिलिङ लोदा र नाङ्लियाको ‘बिटिएस टावरको स्तरोन्नति गरिएको छ । ‘टुजी’ क्षमताका दुवै टावरको क्षमता बढाएर ‘थ्रिजी’ सेवा सुरु गरिएको उनले बताए ।

यसैगरी चार हजार ४०० मिटरको उचाइमा रहेको धेयगाउँमा नयाँ बिटिएस टावर जडान गरिएको छ । टुजी क्षमताको टावरले दामोदरकुण्ड जाने पदयात्री तथा दर्शनार्थीका लागि सञ्चार सुविधा सहज हुने प्रमुख शर्माले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्