संसद् बैठक एक सातालाई स्थगित, एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले स्वीकृत

काठमाडौं , भदौ २९ । प्रतिनिधिसभा बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधबीच बजेट स्वीकृत भएको छ ।

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक–२०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

उक्त प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि सभामुख अग्निप्रसाद सापकोटाले विधियोजन विधेयक–२०७८ लाई निणायार्थ पेस गरेका थिए । सभामुख सापोटाले निर्णयार्थ पेस गरेको विधेयक प्रमुख प्रतिपक्षी एमाले सांसदको नाराबाजीबीच बहुमतले स्वीकृत भएको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज  पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेरेर नाराबाजी सुरु गरेका थिए ।

एमालेले संसद् अवरोध गरेको आज चौथो दिन हो। प्रतिनिधिसभाको नवौं अधिवेशन सुरु भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद् अवरोध गरिरहेको छ। गत बिहीबार, शुक्रबार र आइतबारको प्रतिनिधिसभा बैठक पनि एमालेले अवरुद्ध गरेको थियो। शुक्रबारको बैठक भने नाराबाजीकै बीच सभामुखले सञ्चालन गरेका थिए।

सभामुख अग्नि सापकोटाले माफी माग्नुपर्ने र एमालेले निष्काशनको कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने माग एमालेको छ।

नेकपा एमालेको अवरोधका बीच प्रतिनिधिसभाको बैठक सञ्चालन गरेका सभामुख अग्निप्रसाद सापकोटाले एक सातालाई बैठक स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्