टेलिकम र वाणिज्य बैंक ज्वाइन्ट भेन्चर रहेको ‘नमस्ते पे’ आजबाट सुरु हुँदै

काठमाडौं, भदौ २९ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको ज्वाइन्ट भेन्चर रहेको नेपाल डिजिटल पेमेन्ट्स कमपनी ‘नमस्ते पे’ आजदेखि सुरु हुँदै छ।

भुक्तानी प्रदायकको सेवा दिने गरी आज शुभारम्भ हुनलागेको हो। ‘नमस्ते पे’ अहिलेसम्मकै सबैभन्दा ठूलो भुक्तानी सेवा प्रदायक (पीएसपी) बन्ने भएको छ। नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर)मा यो पीएसपी सञ्चालनमा ल्याउन लागिएको हो।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी स्थापना गरेर सञ्चालन गर्न लागिएको ‘नमस्ते पे’को चुक्ता पुँजीका आधारमा सबैभन्दा ठूलो कम्पनी हुनेछ।

नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ छ। यही चैत ३ गते राष्ट्र बैंकबाट ‘नमस्ते पे’ले स्वीकृत पाएको थियो।

चुक्ता पुँजीका आधारमा हेर्दा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त २७ वटा भुक्तानी सेवा प्रदायकमा सबैभन्दा ठूला नमस्ते पे बनेको छ।

नमस्ते पेपछि सबैभन्दा धेरै चुक्ता पुँजी आईएमई पे र प्रभु पेको दश करोड रहेको छ। अग्रणी भुक्तानी सेवा इ–सेवाको चुक्ता पुँजी ५ करोड रुपैयाँ रहेको छ। मोबाइल वालेट सञ्चालनको निम्ति कम्तीमा एक करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ। नेपाल राष्ट्र बैंकले यही चैत ५ गतेसम्म २७ वटा भुक्तानी सेवा प्रदायकलाई स्वीकृति दिएको छ।

चैत महिनामा मात्रै नमस्ते पेसँगै, छिटो पैसा, एन क्यास र आइ क्यासले स्वीकृति पाएका छन् । भुक्तानी प्रणाली सञ्चालक पीएसओको संख्या १० पुगेको छ। पछिल्लो पटक चैत ३ गते गेटवे पेमेन्ट सर्भिसले अनुमतिपत्र प्राप्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस्