साहस ऊर्जाले ७० करोडको आइपिओ ल्याउँदै

काठमाडौँ । साहस ऊर्जा लिमिटेडले ७० करोड रुपैयाँ बराबरको आइपिओ बिक्री गर्ने भएको छ । कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अङ्कित मूल्यमा ७० करोड रुपैयाँको ७० लाख कित्ता साधारण सेयर असोज ६ गते बिक्री खुला गर्ने भएको हो ।

७० लाख कित्ता सेयरमध्ये दुई लाख १० हजार (३ प्रतिशत) कित्ता कर्मचारीहरूका लागि र ३ लाख ५० हजार (५ प्रतिशत) कित्ता सामूहिक लगानी कोषका लागि छुट्ट्याइएको छ भने बाँकी ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणको लागि आवेदन खुलाउन लागेको हो ।

सर्वसाधारणले छिटोमा १० गते र ढिलोमा २० गते सम्म आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्ता सम्मको लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपि आईआर डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । कम्पनीले कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोसी) जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ।

विद्युत् विकास विभागले कम्पनीको सोलु खोला (दूधकोसी) जलविद्युत् आयोजना (८६ मेगावाट)लाई विद्युत् उत्पादनको लागि २०७१–०६–०२ अनुमति दिएको थियो । विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि २०७१–०६–०२ देखि २१०६–०६–०१ सम्म रहेको छ ।

कम्पनीको प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित १३ करोड ७९ लाख ७ हजार अनुमान गरिएको जनाएको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.०२ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १०.१३ वर्ष रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्