खुल्न थाले बन्द रहेका राजधानीका सङ्ग्रहालय , अवलोकनकर्ताको बढ्यो भीड

काठमाडौं, भदौ २९ । लामो समयदेखि बन्द रहेका राजधानीका सङ्ग्रहालय खुल्न थालेका छन्। कोरोना महामारीले यी सङ्ग्रहालयहरु बन्द गरिएको थियो । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण बढेसँगै गत वैशाखदेखि सङ्ग्रहालय बन्द थिए । अब भने अवस्था सामान्य भएसँगै खुल्न थालेका हुन्।

राजधानीका नारायणहिटी दरबार सङ्ग्रहालय, गणतन्त्र स्मारक, छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालय, मुद्रा सङ्ग्रहालय र हनुमानढोका दरबार सङ्ग्रहालय स्वास्थ्य मापदण्डपालना गरी खुला गरिएको हो।
पछिल्लो समय सङ्ग्रहालय खुला गरेसँगै अवलोकनकर्ताको भीड लागेको छ। नारायणहिटी दरबार सङ्ग्रहालय र गणतन्त्र स्मारक हप्तामा छ दिन खुला हुन्छ।

बुधबार नारायणहिटी अवलोकनकर्ताका लागि बन्द गरिन्छ। मङ्गलबार भने आधा दिन खुला गरिने गरेको सङ्ग्रहालयका प्रमुख कार्यकारी अधिकृत भेषनारायण दाहालले राससलाई जानकारी दिए। हनुमानढोका दरबार हप्तामा सातै दिन सार्वजनिक बिदाका दिन पनि खुला हुने गरेको छ। दरबारको ढुकुटी भवनमा गरगहनासम्बन्धी प्रदर्शनी जारी छ। दरबार क्षेत्रभित्रका नासलचोक, लोह चोक, पुतली बगैँचा अवलोकनका लागि खुला गरिएको छ।

हनुमानढोका दरबार क्षेत्रमा विदेशी प्रवेशको टिकटको शुल्कको २५ प्रतिशत डेढवर्षदेखि काठमाडौँ महानगरपालिकाले सङ्ग्रहालयलाई दिएको छैन। महानगरसँग सम्झौता भएअनुसार रु तीन करोड ५० लाखभन्दा बढी पैसा लिन बाँकी रहेको हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दिप खनालले जानकारी दिए। महानगरले पैसा नदिएपछि सङ्ग्रहालयले पनि टिकट काट्न सुरु गरेको छ।

सङ्ग्रहालय प्रवेश गर्दा अब विदेशीले ३०० र नेपालीले ३० को टिकट काट्नुपर्छ। महानगरले भने हनुमानढोका दरबार क्षेत्र प्रवेश गरेको एक हजार शुल्क विदेशीसँग लिने गरेको छ। यता अन्य क्षेत्र पनि अब विस्तारै खुल्दै जान थालेका छन् । संक्रमणमा केहि कमि आएपछि जनजिवन सहज हुन थालेको हो ।तर कोरोनाको डर त्रास भने अझै छ । यसले गर्दा स्वास्थ्यका मापदण्ड अपनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्