भारतबाट पहिलो पटक वीरगञ्ज आइपुग्यो निजी कार्गो रेल

काठमाडौं, भदौ ३० । वीरगन्ज महानगरपालिका– २५ स्थित सुक्खा बन्दरगाहमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल आइपुगेको छ। बुधबार बिहान १० बजे हिम्ड टर्मिनल प्रालिको एक र्‍याकको कार्गो रेल आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जानकारी दिए। उनका अनुसार हल्दिया पोर्टबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल सुक्खा बन्दरगाह आइपुगेको छ।

नेपालको रेल पनि सीधै कोलकाताको हल्दिया पोर्टसम्म जान सक्ने र नेपाली रेलले नै सामान बोकेर सीधै नेपाल आउन सक्ने उनले बताए। ०६१ सालमा भएको नेपाल–भारत रेल सेवा सम्झौताअनुसार भारतीय सरकारी स्वामित्वको रेलले मात्रै नेपालमा सेवा दिँदै आएको थियो। रेल सेवा सम्झौता पुनरावलोकन सम्झौतामा गत जुलाई २०२१ मा भएको दुई देशबीचको सहमतिपछि नेपालमा निजी क्षेत्रका रेलले पनि सेवा सञ्चालन गर्न पाउने बाटो खुलेको थियो।उनले सन् २०२१ को जुलाईमा नेपाल र भारत सरकारबीच भएको पारवहन सम्झौताअनुसार भारतीय निजी रेल कम्पनीले नेपालमा ढुवानी शुरु गरेको हो । सम्झौता भएको करिब दुई महिनापछि निजी कम्पनीले सञ्चालन गरेको रेल नेपालमा सामान ढुवानी गर्न आइपुगेको बताइएको छ ।

यसअघि, नेपाल र भारत सरकारबीच रेल सेवा सम्झौता भएको करिब १७ वर्षसम्म भारत सरकारको स्वामित्वमा रहेको कम्पनीले मात्रै नेपालमा यो सेवा दिँदै आएको थियो । नेपाल सरकार र भारत सरकारबीच २०६१ सालमा रेल सेवा सम्झौता भएको थियो । भारतीय रेल्वेको भगिनी संस्था कोन्करले मात्र नेपालमा रेलमार्फत कन्टेनर ल्याउँदै आएको थियो । जुन, निजी क्षेत्रको प्रवेशसँगै तोडिएको हो । हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट उक्त सामान ल्याएको इन्टरमोडलले जानकारी दिएको छ ।

भारत सरकारसँगको सम्झौतापछि निजी क्षेत्रले नेपालमा सामान ढुवानी गर्न बाटो खुलेको थियो । योसँगै, भारत सरकारको विगत १७ वर्षदेखिको एकाधिकार तोडिनुका साथै अन्य निजी कम्पनीबीच प्रतिस्पर्धा हुने देखिएको छ । फलस्वरुप नेपाली आयात र निर्यातकर्ताले सहजै वैदेशिक व्यापार गर्न सक्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतीय रेल सेवामा सञ्चालनमा ल्याउनका लागि अनुमति प्राप्त गरेका सबै किसिमका कन्टेनर तथा वागनहरु नेपालको लक्षित ढुवानीका लागि उपयोगमा ल्याउन सकिने छ । त्यस्तै निजी सेवा प्रदायकले सञ्चालनमा ल्याएका लोकोमोटिभबाट समेत नेपालमा लक्षित ढुवानी हुनेछ ।

अब नेपाल लक्षित पारवहन कार्गो ढुवानीका लागि नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेल तथा वागनले वीरगन्ज र विराटनगरदेखि कोलकाता, हल्दियासम्म रेल सेवा दिन सक्नेछ । आज आइपुगेको कार्गो यसैको उदाहरण हो । साथै नेपालले अहिले वीरगन्जसम्म रेलसेवा उपलब्ध भएकोमा विराटनर भैरहवा, इनरुवामा रेल पूर्वाधार तयार भएपश्चात् रेल सेवा उपलब्ध गराउन माग गरेको थियो । नेपाल–भारत पारवहन सन्धिमा व्यवस्था भएअनुसार अन्य पारवहन विन्दुमा तथा द्विपक्षीय व्यापार नाकाहरुमा सहमतिका आधारमा रेल सेवा विस्तार हुँदै जाने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्