कांग्रेस महाधिवेशन : थप ११ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान

काठमाडौं, ३० भदौं । सत्तारुढ नेपाली कांग्रेसले थप ११ जिल्लामा क्रियाशील सदस्यता विवाद समाधान गरेको छ । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले बाँकी रहेका २० जिल्लामध्ये ११ जिल्लाको विवाद समाधान गरेको हो ।

निर्वाचन समितिका अनुसार विवाद टुंगिएका जिल्लाको क्रियाशील सदस्यताको नामावली आजै साँझसम्म वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ ।

कार्यदलले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कैलाली, बर्दिया, बाजुरा, मोरङ, महोत्तरी, पर्सा, सिराहा, कपिलवस्तु र काठमाडौंको विवाद टुंग्याएको निर्वाचन समितिका सचिव अधिवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले बुधबार विवाद समाधान भएका जिल्लाहरुको सदस्यता नामावली निर्वाचन समितिमा आइपुग्ने पनि बताए । उनले बाँकी रहेका २० वटै जिल्लाको विवाद बुधबार नै टुंगिने सम्भावना रहेको पनि जानकारी दिए ।

उनले बुधबार ३ बजे निर्वाचन समितिको बैठक बस्ने बैठकले विवाद टुंगिएका जिल्लाहरुमा निर्वाचन अधिकृतहरु तोकिने पनि जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्