विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युबमा बनायो नयाँ कीर्तिमान

काठमाडौं, भदौ ३० ।लोकगीत संगीतको बजारमा अहिले ‘चरी जेलैमा’ ले बजार तताएको छ । टिकटकदेखि सबैको मुखमा झुन्डिन सफल भएको छ । योसँगै गायिका विष्णु माझीको नयाँ गीत ‘चरी जेलैमा’ ले युट्युवमा नयाँ कीर्तिमान बनाएको छ ।

गीतले रिलिज भएको एक महिना नपुग्दै दुई करोड बढी भ्युज पाएर नयाँ कीर्तिमान कायम गर्न सफल भएको हो । सपना म्युजिक उद्योगको युट्युव च्यानलबाट गत १८ अगष्टमा सार्वजनिक गीतले समाचार तयार गर्दा २ करोड ९ लाख बढी भ्युज पाएको छ । गीतले ३ लाख ३२ हजार लाइक र २१ हजार डिस लाइक पाएको छ । यति थोरै समयमा यति धेरै भ्युज पाउने सम्भवत यो गीत पहिलो हो । यसअघि अस्मिता अधिकारीको गीत ‘टाढा भएपनि’ ले ३८ दिनमा २ करोड भ्युजको रेकर्ड बनाउन सफल भएको थियो ।

गीतले समेत चारैतिर चर्चा बटुलीरहेको छ । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीत बिष्णु माझीको जीवनसँग समेत जोडेर चर्चा गर्न थालिएको छ । सामाजिक सञ्जालमा उनको अवस्थाबारे विभिन्न टिकाटिप्पणी हुन थालेपछि प्रहरीले माइती पक्षसँग सोधखोज गरेको थियो ।

केही दिन अगाडि जिल्ला प्रहरी कार्यालय स्याङ्जाका एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली माझीको माइतीघर रहेको स्याङ्जाको चापाकोटमा पुगेर सोधखोज गरेको थियो ।सोधखोजका क्रममा माझी नआएको वर्षौँ भइसकेको जानकारी आएको बोगटीले बताएका थिए ।

राष्ट्रिय मानवअधिकार आयोगले माझी लामो समयदेखि सार्वजनिक नभएको भन्दै उनको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय स्याङ्जामा पत्र पठाएपछि प्रहरी उनको माइती पुगेको हो ।  यसअगाडि पनि उनको यसै गरेर पटक–पटक खोज हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्