विमानस्थलबाट दुई करोड २४ लाखका गहनासहित दुईजना पक्राउ

काठमाडौं, भदौ ३० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बर्दगोरिया गाउँपालिका-१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका-२ का ४७ वर्षीय मुरारीराज अधिकारी पक्राउ परेका हुन् ।

भण्डारी र अधिकारीको ब्याग एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा २ करोड २४ लाख ९२ हजार ३९७ मूल्य बराबरको ३ केजी ३६० ग्राम सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मुरारीराजले लिई आएको ब्यागेजहरूबाट सुनका गरगहना बरामद भएका हुन् । सुनका गरगहनाहरू आवश्यक प्रक्रिया पूरा नगरी लैजान लागेको अवस्थामा फेला पारिएको हो ।

आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि उनीहरुलाई ललितपुरस्थित राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा पठाइएको प्रहरीले जनाएको छ

 

प्रतिक्रिया दिनुहोस्