सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ ३० । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।

ललितपुरको नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधार गर्न भविष्यमा थप कार्यक्रम गर्ने पनि उनले बताए ।
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण कम भएको भन्ने अवस्थामा पनि यस विद्यालयले उल्लेख्य विद्यार्थी पठनपाठन गरिरहेको सुन्न पाउँदा आफूलाई खुसी लागेको उनको भनाइ थियो ।

सबैका लागि सहज पहुँच र गुणस्तरीय शिक्षा अभियानमा सरोकारवाला सबैलाई ध्यान केन्द्रित गर्न प्रधानमन्त्री देउवाले आग्रह समेत गरे । साथै उनले विद्यालयको भौतिक सुधारपछि गुणस्तरीय शिक्षातर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

विसं २०७२ वैशाखमा गएको भूकम्पबाट देशका धेरै शैक्षिक संरचनामा क्षति पुगेको अवस्थामा जापान सरकारको सहयोगमा आवश्यक पूर्वाधारसहित विद्यार्थीलाई पठनपाठन गराउने गरी भएको विद्यालयको पुनर्निर्माणप्रति उनले खुसी पनि व्यक्त गरे ।

विद्यालयमा दृष्टिविहीन बालबालिकालाई पनि पढाउने व्यवस्था गरिएकामा त्यो काममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । जापानको ऋण सहयोगमा १२ करोड तीन लाख रुपैयाँको लागतमा यो विद्यालय निर्माण गरिएको हो ।

जाइकामार्फत नेपालका धेरै ठाउँमा शिक्षा, स्वास्थ्य, विपद् नियन्त्रणलगायत क्षेत्रमा निःस्वार्थ सहयोग गरेको भन्दै प्रधानमन्त्री देउवाले सरकारका तर्फबाट जापान सरकारलाई धन्यवाद दिए ।

प्राधिकरणअन्तर्गत भूकम्पबाट क्षति पुगेका ३२ जिल्लाका सात हजार पाँच सय ५३ विद्यालयमध्ये अहिलेसम्म ६ हजार ६ सय ४४ विद्यालयको पुनर्निर्माण भइसकेको छ । बाँकी पुनर्निर्माणका क्रममा छन् ।

प्रतिक्रिया दिनुहोस्