काठमाडौंको स्वयम्भूबाट पेस्तोलसहित एक जना पक्राउ, बौद्धबाट १४ जना रोहिंग्या शरणार्थी प्रहरी निणन्त्रणमा

काठमाडौं, भदौ ३० । काठमाडौंको स्वयम्भूबाट हतियारसहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।तारकेश्वर नगरपालिका ३ का २४ वर्षीय सोनाम तामाङ पेस्तोलसहित पक्राउ परेको सशस्त्र प्रहरीले जनाएको छ।

मेड इन जर्मनी लेखेको अटोमेटिक पेस्तोल, त्यसको ५ राउन्ड ५ गोली, एउटा म्यागजिन बरामद भएको छ।  यस्तै उनले चढ्ने साइन मोटरसाइकल बा ४९ प ७५६५ सहित पनि सशस्त्र प्रहरी बलको बिषेश ब्यूरोले नियन्त्रणमा लिएको छ।

यसैबीच यता प्रहरीले राजधानीको बौद्धबाट १४ जना रोहिंग्या शरणार्थीलाई पक्राउ गरेको छ । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

‘बंगलादेशबाट स्थलमार्ग हुँदै उनीहरु झापाको काँकडभिट्टा सीमा नाकाबाट नेपाल प्रवेश गरेको देखिन्छ’, ती अधिकारीले  भने, ‘दलालको माध्यमबाट दुई दिनअघि बौद्ध आइपुगेका उनीहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।’

बंगलादेशमा रोहिंग्यामाथि दमनको क्रम बढ्न थालेपछि केही वर्षयता त्यहाँका हजारौं रोहिंग्याहरु विस्थापित बनेका छन् । प्रहरीको कडाइका बीच पनि उनीहरुमध्ये केही संख्यामा यसअघि नै शरणार्थीको रुपमा काठमाडौं प्रवेश गरेका थिए ।

त्यही क्रममा शरणार्थीको रुपमा नेपालमा बस्ने योजनाका साथ दुई दिनअघि पनि मानव तस्करको सेटिङमा उनीहरु नेपाल आएको हुनसक्ने प्रहरीको आशंका छ । उनीहरुलाई पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्