दूरसञ्चार प्राधिकरणले भन्यो – तत्काल इन्टरनेटको मूल्य बढ्दैन

काठमाडौं , असोज १ । नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवाको मूल्य नबढ्ने बताएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय गर्दै प्राधिकरणसँग अनुमति मागेका छन् ।

तर, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने पूर्वाधारको भाडाको विवादको भार र मार उपभोक्तामाथि नपारिने बताएका छन् ।

जति विवाद छन्, त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छ,’ उनले भने,’यसैपनि इन्टरनेट सेवा महँगो भएको गुनासो छ, त्यसलाई सस्तो गर्नेतर्फ ध्यान दिने हो । त्यसका लागि सरकारी निकाय र सेवा प्रदायक दुबै जिम्मेवार बन्नुपर्छ ।’

नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका छन् ।

यो निर्णयअनुसार भएको प्रस्तावलाई दूरसञ्चार प्राधिकरणले स्वीकृति गरेमा करिब ९२देखि ९३ प्रतिशत तारसहितको इन्टरनेट सेवा लिइरहेका ग्राहकले बढी मूल्य तिर्नुपर्ने छ ।

शहरी क्षेत्रमा प्रतिप्याकेज १५० रुपैयाँ र ग्रामीण क्षेत्रमा ३०० रुपैयाँ बढाउन कम्पनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणमा प्रस्ताव पेश गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्