भारतको चीनलाई प्रस्ताव: दुबैतर्फबाट सीमा सुरक्षा फौज फिर्ता गरौँ

काठमाडौं, असोज १ ।  चीनसँगको हिमाली सीमा क्षेत्रमा खटिएका दुबै देशका सुरक्षा फौज फिर्ता गर्न भारतले चीनसमक्ष प्रस्ताव राखेको छ ।

विवादित हिमाली सीमामा खटिएको सुरक्षा फौज फिर्ता गरेमात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने भन्दै भारतले चीन समक्ष यस्तो प्रस्ताव राखेको हो । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बिहीबार दुसान्वेमा आयोजित क्षत्रीय भेलाको अवसरमा भेट भएको थियो ।

उनीहरुको भेटमा सीमा सुरक्षा सम्बन्धमा छलफल भएको थियो । यस अवसरमा भारतीय विदेशमन्त्रीले आफूहरुको विवादित हिमालयन बोर्डरमा खटिएका चीन र भारतका सेना फिर्ता गरे मात्र दुईपक्षीय सम्बन्ध राम्रो हुने बताएका हुन् ।

उक्त भेटपछि विदेशमन्त्री जयशंकरले ट्वीटरमार्फत भनेका छन्, ‘भेटमा सीमा क्षेत्रबाट सेनालाई हटाउने सम्बन्धमा छलफल भयो । हिमालयन सीमा क्षेत्रमा खटिएका चीन र भारतका सेनालाई दुबै देशले हटाएमा दुबै देशबीच सम्बन्ध राम्रो हुनेछ । दुई पक्षीय विकासको लागि सीमाबाट सेना हटाउन आवश्यक छ ।’

हजारौँ भारतीय र चिनियाँ सैनिक सीमावर्ती हिमालयन क्षेत्रमा खटिएका छन् । दशकौँ लामो हिमालयन क्षेत्रको सीमा विवादमा गत वर्षदेखि दुबै देशका सेनाबीच टकराव जारी छ । सीमा विवादका कारण करिब एक दकशपछि तनाव सिर्जना हुँदा दुबै देशका सैनिकको मृत्यु भएको थियो ।

यद्यपि, चीन र भारतको सीमा विवाद चीनले सहजै सम्हाल्दै आएको चिनियाँ विदेशमन्त्री वाङले बताएका छन् ।

सीमा विवादकै कारण चीन र भारतबीच सन् १९६२ मा युद्ध भएको थियो । जुन हालसम्म समाधान हुन सकेको छैन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच शुक्रबार भर्चुअल माध्यमबाट भेट हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्