लोकसेवा आयोगको कार्यालय अगाडि परीक्षार्थीहरूको प्रदर्शन

काठमाडौँ , ४ भदौ । लोकसेवा आयोगले २०७६ सालमा प्रकाशित गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परिक्षार्थीहरु आन्दोलित भएका छन् ।

सोमवार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले प्रदर्शन गरेका हुन् । उनीहरुले तत्काल नतिजा प्रकाशनको माग गरेका छन् ।

लोकसेवा जस्तो जिम्मेवार संस्थाले नतिजा प्रकाशन गर्नुको साटो नतिजा स्थगित गरिएको सूचना निकालिनु घिनलाग्दो काम भएको बताउँदै उनीहरुले गरिमामय संस्थाको आस्था र भरोसालाई बचाइराख्न नतिजा प्रकाशन गरिनुपर्नेमा जोड दिए । उनीहरुले लोकसेवा आयोगले तत्काल परीक्षाको नतिजा निकाल्नु पर्ने माग गरेका छन् ।
प्रदर्शनमा उत्रिएका परीक्षार्थी सुदिप सापकोटाले लोकसेवा जस्तो योग्यताको कदर गर्ने र जिम्मेवार संस्थाले नतिजा ननिकालेर विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गर्न खोजेको जनाएका छन् ।

आयोगले सबै परीक्षाहरु सकिसकेपछि पनि नियम, कानून र ऐनले तोकेको प्रावधान अनुरुप नतिजा प्रकाशन नगरेको उनको भनाई थियो । परीक्षार्थीहरूले लोकसेवा आयोगको यो निर्णयबाट कतिपय परीक्षार्थीहरु डिप्रेशनको शिकार भइरहेको समेत बताएका छन् । आयोगले विभिन्न कोटाका लागि तीन वर्षसम्म विज्ञापन बमोजिम नतिजा प्रकाशन नगरिदिँदा समय र लगानी खेर गएको समेत उनीहरुको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्