काठमाडौं जिल्लाको साक्षरता ९६.८८ प्रतिशत

काठमाडौँ , ४ असोज । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमवार बागमती प्रदेशका सामाजिक विकासमन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।

राजधानीमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए । काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउनमा लागि पर्ने बताएका छन् ।

शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौति रहेको बताए । श्रोत र साधन पर्याप्त भएपनि यसलाई व्यवस्थापन गर्न नसकेको उनले जनाए । त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरुलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे ।

१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत भन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ । सोही अनुरुप आज काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्