नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किए

काठमाडौँ , ५ असोज। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार बिहान स्वदेश फर्केका छन् ।

नेपाली टिम बिहान ७ः२५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । कप्तान ज्ञानेद्र मल्लसहित १७ खेलाडी, म्यानेजर, फिजियो र टेक्निकल एनालिस्टसहित २० जनाको टोली नेपाल फर्किएको हो ।

मुख्य प्रशिक्षक डेभ वाटमोर भने नेपाल आएनन् । ओमान पुगेपछि वाटमोरले यही टुर नेपाली टिमसँग आफ्नो अन्तिम रहेको र सिरिज सकिएपछि लागु हुनेगरी पदबाट राजीनामा दिएका थिए ।

उनी उतैबाट श्रीलंका प्रस्थान गरेका छन् । यस्तै नेपाली टिमका ट्रेनर राकेश काशीभाई गोएल पनि उतैबाट भारत गएका हुन् ।

ओमान भ्रमणमा नेपाले लिग–२ को सिरिजमा चार र त्यसअघि पपुवा न्यु गिनीविरुद्ध दुई गरी कुल ६ खेल खेलेको थियो । जसमा नेपालले चार खेल जित्दा दुई खेलमा पराजित भयो । पहिलो पटक पपुवा न्यु गिनीविरुद्ध ओडिआई सिरिज खेलेको नेपालले दुवै खेल जितेको थियो ।

त्यसपछि नेपालले लिग दुईमा अमेरिका र ओमानविरुद्ध एक–एक खेल जित्यो । दुवै टिमसँग नेपालले एक –एक खेलमा भने हार बेहोर्‍यो ।

नेपालले अब विश्वकप लिग २ मा अर्को सिरिज २०२२ फेब्रुअरीमा खेल्ने तालिका छ ।

अब नेपाली क्रिकेटरहरु यही सेप्टेम्बर २५ तारिख असोज ९ देखि सुरु हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल मा व्यस्त हुनेछन् । टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने ईपीएलमा ६ फ्रेन्चाइजले प्रतिस्पर्धा गर्नेछन् ।

लिग टू मा नेपाल ८ अंक जोड्दै अंकतालिकामा चौथो स्थानमा छ । ८ खेलबाट नेपालले ४ जित र ४ हारको नतिजासहित ८ अंक नै जोडेको हो । नामिबिया समान ८ अंक भए पनि नेपाल रनरेटमा अघि रहेको छ ।

ओमान १३ खेलबाट २० अंकसहित शीर्ष स्थानमा छ । १५ खेल खेलिसकेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ । यस्तै स्कटल्याण्ड ८ खेलबाट ९ अंकसहित तेस्रो स्थानमा छ ।

लिग टू मा ७ वटै टिमले ९ सिरिजसहित ३६ खेल खेल्नेछ । नेपालले ओमान टुरपछि अझै लिग टू मा ७ सिरिज खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्