महिला एसियन कप छनोटः ३२ वर्षपछि नेपालले हङकङसँग खेल्दै

काठमाडौँ , ५ असोज । चौथो पटक महिला एसियन कप खेल्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टिम पहिलो खेलमै फिलिपिन्ससँग पराजित भएपछि सुरुमै धक्का लागेको छ ।

समूह एफ अन्तर्गत त्यस खेलमा नेपालले सुरुमै अग्रता लिए पनि अन्तिममा समहाल्नि नसक्दा दुई गोल बेहोरेको थियो ।

तीन टिम मात्र सम्मिलित समूहमा नेपालले मंगलबार हङकङसँग खेल्दैछ । समूह विजेता बनेर एसियन कपमा छनोट हुने सम्भावना कायम राख्न पनि नेपाललाई स्पष्ट मंगलबार जितको आवश्यकता छ ।

समूह विजेता मात्र अर्को वर्षको एसियन कपमा छनोट हुने भएकोले नेपालको लागि मंगलबारको खेल महत्वपूर्ण हने छ । ।

नेपालको राष्ट्रिय महिला फुटबल टिमले ३२ वर्षपछि हङकङसँग खेल्न लागेको हो । सन् १९८६ मा हङकङमै भएको एफसी वुमेन्स च्याम्पियनसिप मार्फत नेपाली महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ पहिलो खेलमै नेपाल हङकङसँग १–० ले पराजित भएको थियो ।

त्यसको तीन वर्षपछि सन् १९८९ मा भएको एसियन च्याम्पियनसिपमा पनि नेपाल हङकङसँग ३–० ले पराजित भएको थियो । त्यसको ३२ वर्षपछि यी दुई टोली आमने–सामने हुन लागेका हुन् ।

मंगलबार उज्वेकिस्तानको तास्केन्दस्थित जेएआर रंगशालामा भेट हुँदा हङकङ पुरानै नतिजा दोहोर्‍याउने लक्ष्यमा हुनेछ भने पहिलो पटक हङकङलाई हराउन चाहन्छ । खेल नेपाली समयअनुसार ३ः४५ बजे सुरु हुनेछ ।

राष्ट्रिय टिमले हङकङलाई नहराए पनि नेपालको एपीएफ टिमले भने मैत्रीपूर्ण खेलमा हङकङलाई ३–१ ले पराजित गरेको थियो । त्यस खेल खेलेका केही खेलाडी अहिले राष्ट्रियमा टिममा समेत छन् ।

प्रतिक्रिया दिनुहोस्