काठमाडौंमा सुरु भयो मेट्रो अनलाइन ट्याक्सी सेवा, अब यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा सेवा पाउने

काठमाडौं , असोज ६ । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु भएको छ ।

मेट्रो अनलाइन ट्याक्सी एपमार्फत ट्याक्सी सेवा अनलाइन मार्फत नै बुक गरेर घरमा बोलाउन सकिने सुबिधा सहित शुरु भएको हो । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा लिन सक्नेछन् । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ ।

यस मेट्रो अनलाइन ट्याक्सीमा ५ हजार भन्दा धेरै ट्याक्सीहरू समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ । ट्याक्सी सेवालाई डिजिटलाइज्ड र अत्याधुनिक बनाउनका लागि आएको मेट्रो अनलाइन ट्याक्सीले अनौपचारिक रुपमा सेवा शुरु गरिसकेको छ ।मेट्रो अनलाइन ट्याक्सीमा यात्रुहरुले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा उपयोग गर्नसक्ने कम्पनीका प्रशासनिक प्रमुख रविन्द्र भुपाल प्रधानले जानकारी दिए ।

आगामी दिनमा मेट्रो अनलाइन ट्याक्सीमा थप ट्याक्सीहरूलाई सहभागी गराउने र सेवा क्षेत्र बिस्तार गर्ने योजना रहेको उनले बताए । मेट्रो अनलाइन ट्याक्सीमार्फत सेवा लिन चाहने यात्रुहरुले एपमा रजिष्टर गरेर मात्र सेवा लिँदा सुरक्षित हुने र यात्रा भरपर्दो बनाउन सकिनेछ भने आगामी दिनमा सेवा सुधारमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ । ट्याक्सी स्ट्यान्डमा आएका यात्रुलाई सेवा दिनुपर्दा चालकले एपमा रजिष्टर गराएर मात्र सेवा दिनेछन् । यसले गर्दा यात्रु र चालक दुबै सुरक्षित हुनसक्ने कम्पनीले जनाएको छ ।

यस मेट्रो अनलाइन ट्याक्सी एपमा आबद्ध हुने ट्याक्सीहरूलाई कम्पनीको निश्चित मापदण्ड अनुसार निःशुल्क ट्याक्सी बिमा गर्दै आएको छ । जसले ट्याक्सी दुर्घटना भएको खण्डमा ट्याक्सी व्यवसायीहरुलाई बिमा सुनिश्चित गर्ने बताइएको छ ।

यता मेट्रो अनलाइन ट्याक्सीले आज ट्याक्सी चालकहरूका लागि अनलाइन ट्याक्सी सेवा र ग्राहकहरुलाई प्रदान गर्ने सेवाको बारेमा अभिमुखीकरण तालिम पनि सञ्चालन गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्