अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन पारित, महासचिव चयन भोलि

काठमाडौं, असोज ६ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनलाई पारित गरेको छ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको मंगलबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन पाँचवटा समूह बनाई समूहगत छलफलको निष्कर्ष बुधबारको बैठकमा सुझाबसहित प्रस्तुत गरिएको थियो।

सो प्रतिवेदनमाथिका महत्वपूर्ण सुझाबहरूलाई समेटी पारित गरिएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । समूह नं। १ बाट रामकुमार झाँक्री, समूह नं। २ बाट रामचन्द्र शाह, ३ बाट रमा आले, ४ बाट श्रीप्रसाद साह र ५ बाट दिनेश राईले राजनीतिक प्रतिवेदनमाथि आफ्नो समूहले गरेको छलफलको निष्कर्ष प्रस्तुत गरेको उनले जानकारी दिए ।

बैठकमा जनताको बहुदलीय जनवादको सम्बन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले जबजको सारभूत विचारलाई पक्रँदै समाजवाद र समृद्धिको यात्रामा जाने कुरा बताएको प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए । आफूहरू तत्कालीन एमालेले जस्तो जबजलाई देवत्वकरण अथवा जबजको विकृतिको पक्षमा नरहको भन्दै त्यसबाट मुक्त हुन चाहेको अध्यक्ष नेपालले बैठकमा बताएको उनले उल्लेख गरे ।

बैठकले समाजवाद नामक पार्टीको मुखपत्र र नियमित बुलेटिन प्रकाशित गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, नेताहरूमार्फत पार्टीको चुनावचिह्नको सन्दर्भमा विभिन्न सुझाबहरू आएको भन्दै पार्टीको चुनावचिह्न निश्चित गरी निर्वाचन आयोग जाने निर्णय गरिएको पनि विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

पार्टी केन्द्रीय कमिटी बैठक भोलि 9बिहीबार) बिहान ११ बजे पनि बस्ने र भोलिको बैठकले पार्टीको महासचिव चयन गर्ने, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरूको अन्तिम टुंगो लगाइने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्