राष्ट्रियसभाबाट आर्थिक वर्ष २०७८/ ७९ को बजेट बहुमतले पारित

काठमाडौं , असोज ७ । राष्ट्रियसभाले आर्थिक वर्ष २०७८/ ७९ को बजेट बहुमतले पारित गरेको छ । सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित पठाइएको विनियोजन विधेयकलाई बहुमतले पारित गरेको हो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक २०७८ लाई पारित गरियोस भन्ने प्रस्ताव पेश गरेका थिए ।

अर्थमन्त्रीले पेश गरेको प्रस्तावलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमत सदस्यले पारित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल एमालेले भने उठेर विरोध जनाएको थियो ।

अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमाथि गत साउन २५ गते अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए ।

अब विनियोजन विधेयकलाई राष्ट्रियसभाले आजै सन्देशसहित प्रतिनिधिसभामा पठाउने छ । आजै बस्ने प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयकलाई ग्रहण गरी सभामुखले प्रमाणित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने संसद सचिवालयको तयारी छ ।

विनियोजन विधेयक पारित भई प्रमाणीकरण भएमा सरकारलाई आजैबाट खर्च गर्न सक्ने बाटो खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्