कांग्रेस पदाधिकारी बैठक : समावेशी प्रतिनिधित्व र अधिवेशन प्रक्रियाबारे छलफल

काठमाडौं, असोज ८। नेपाली कांग्रेसको पदाधिकारी बैठकमा समावेशी प्रतिनिधित्व र अधिवेशनबारे छलफल भएको छ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी तेस्रो दिनको बैठकमा यसबारे छलफल भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

महतका अनुसार जनसंख्याको बनोटका आधारमा प्रतिनिधित्वको व्यवस्था गर्दा दलित, मुस्लिमलगायतले प्रतिनिधित्व हुन नसक्ने गुनासो गरेपछि यसबारे बैठकमा छलफल भएको हो।

त्यस्तै, १४औँ महाधिवेशनअन्तर्गत हिमाली भेगका २१ जिल्लामा १८ गतेभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने, वडा अधिवेशन सकिएका ६४ जिल्ला र क्रियाशीलका कारण वडा अधिवेशन रोकिएका १३ जिल्लाको अधिवेशन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा बैठकमा छलफल भइरहेको महतले जानकारी दिए।

‘दसैँअघि हिमाली क्षेत्रमा जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने सहमति बनिसकेको छ,’ उनले भने, ‘वडा अधिवेशन सकिएका ६४ जिल्लाको प्रक्रिया अगाडि बढाऔँ भन्ने पनि छ। १३ जिल्लाको क्रियाशील विवाद टुंग्याएर मात्र अधिवेशनको प्रक्रिया सँगै अगाडि बढाऔँ भन्ने दुईथरी विषय छलफलमा छ।’

सहमहामन्त्री महतले आजै क्रियाशील सदस्यताको टुंगो लगाउने गरी काम भइरहेको पनि बताए।

प्रतिक्रिया दिनुहोस्