प्रचण्डसँग चितवनमै चुनाव लड्न तयार छु : रामबहादुर थापा

काठमाडौं, असोज ८ ।  नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज रामबहादुर थापा ‘बादल’ले आफू चितवनमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनाव लड्न तयार बताएका छन्।

शुक्रबार भरतपुर विमानस्थलमा प्रेस चौतारी नेपाल चितवनले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा थापाले यस्तो कुरा बताएका हुन्।

‘चितवनमा प्रचण्डविरुद्ध बादलको चुनाव लड्न तयार छ’, उनले भने, ‘प्रचण्ड समाजवाद र राष्ट्रियता विरोधी हुन्। उनीसँग चुनाव लड्न मलाई कुनै समस्या छैन।’

पूर्व गृहमन्त्रीसमेत रहेका बादलले एमालेमा असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयन भए पनि आफ्नो जिम्मेवारी कायमै रहने कुरा बताए। बादल पुस ५ को प्रतिनिधिसभा विघटनपछि प्रचण्डको साथ छाडेर ओलीतिर आएका थिए।

तर फागुन २३ को सर्वोच्चको फैसलापछि पनि उनीसहितका नेताहरु औपचारिक रुपमा माओवादी छाडेर एमालेमै समाहित भएका थिए। थापाले प्रचण्ड अझै एक्लिँदै जाने पनि दाबी गरेका छन्।

‘राष्ट्रियता, समाजवाद, र समृद्धिको नाराबाट मैले आफूलाई विचलित गराएको छैन। बरु प्रचण्डले त्यसलाई छाडे’, उनले भने, ‘प्रचण्ड दक्षिणपन्थी भासतिर लागे। पार्टीको लाइनबाट उनी दायाँ बायाँ भइसकेका छन्।’

बादलले नेपालका ठूला लगानीमा आम्दानीको स्रोत खुलाउनु नपर्ने नीति ल्याएको गठबन्धन सरकारले कालोधनलाई वैधानिकता दिन खोजेको आरोप पनि लगाएका छन्।बादलले अहिलेको गठबन्धन सरकारले एमसीसीविरुद्ध नबोल्न भन्दै जारी गरेको उर्दीको पनि तीव्र विरोध गरे। ‘

गृहमन्त्रालयले मित्रराष्ट्रमाथि आँच आउने गतिविधि नगर्न र नबोल्न भन्दै सूचना निकालेछ’, उनले भने, ‘लिम्यिाधुरा प्रकरणमा भारतीय हस्तक्षेप होस् या अमेरिकी परियोजना एमसीसीबारे होस्, विरोध गर्न पाइँदैन भनेर गृहमन्त्रालयले निकालेको सूचना राष्ट्र विरोधी र लोकतन्त्र विरोधी कुरा हो।’

प्रतिक्रिया दिनुहोस्