राष्ट्रिय सम्मेलनको मोडल तयार गर्न माओवादी बैठक बस्दै

काठमाडौँ , १२ असोज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । पार्टी केन्द्रीय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने बैठकमा सोमबारको बैठकमा पेश भएका तीनवटा प्रस्तावमाथि छलफल हुने स्थायी कमिटी सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।

नेता पोखरेलका अनुसार आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने प्रस्ताव, संगठन विस्तारसम्बन्धी प्रस्ताव र पार्टी स्कुलिङ सम्बन्धी प्रस्तावमाथि आजबाट छलफल सुरु हुनेछ । ‘तीनवटा प्रस्तावमध्ये राष्ट्रिय सम्मेलनको मोडल कस्तो हुने भन्ने विषयमा अलि बढि छलफल हुनसक्छ’, माओवादीका एक नेताले भने,‘विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद लगायतबाट प्रतिनिधित्व गर्ने संख्याबारे सहमति जुटाउने प्रयास हुन्छ ।’

राष्ट्रिय सम्मेलनसम्बन्धी प्रस्तावमा आगामी महाधिवेशनका लागि सदस्यता वितरण तथा नवीकरण, सेल तथा टोल, वडा भेला र पालिकास्तरीय भेलाको मिति परिवर्तन गर्न प्रस्ताव गरिएको छ । प्रस्तावमा सदस्यता नवीकरण गर्ने मितिलाई असोज मसान्तसम्म समय थप गनुपर्ने उल्लेख छ । यसअघि सो पार्टीले सदस्यता नवीकरण मिति भदौ मसान्तसम्म निर्धारण गरेको थियो ।

तर पछिल्लो प्रस्तावमा स्थानीयस्तरमा हुने वडा भेला कात्तिक १३ गते गर्ने र मंसिर ४ गते पालिकास्तरीय भेला गर्ने प्रस्ताव अघि सारिएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिए । यसअघि साउन अन्तिम साता बसेको केन्द्रीय कमिटी बैठकले भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने, असोज १० गते देशैभर एकैदिन सेल र टोल भेला गर्ने, असोज २० गते वडा सम्मेलन गर्ने, असोज ३० गते गाउँपालिका र नगरपालिका सम्मेलन, कात्तिक ३० गते जिल्ला सम्मेलन गर्ने, मंसिर १५ गते प्रदेश सम्मेलन सक्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले स्थानीयस्तरको भेलाको समयबारे पनि जिल्ला, प्रदेश र राष्ट्रिय सम्मेलनको समय भने सारिसकेको छैन । माओवादी केन्द्रले आफ्नो राष्ट्रिय सम्मेलन पुस ११ गतेदेखि १३ गतेसम्म गर्ने निर्णय यसअघि नै गरेको छ ।

प्रतिक्रिया दिनुहोस्