एमाले विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने

काठमाडौँ , १५ असोज । शुक्रबारदेखि सुरु हुने एमालेको विधान महाधिवेशनमा प्रभु साह सहभागी नहुने भएका छन् । सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको एमाले र माओवादी केन्द्र ब्युँताउँने फैसलापछि एमाले रोजेका साहले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

विधान महाधिवेशन सुरु हुनुपूर्व शुक्रबार बिहान बानेश्वरमा भएको आफूनिकट भेलामा साहले सहभागी नहुने निर्णय गरेका हुन् । आईटी आर्मीका प्रमुख चन्द्रभूषण साहका अनुसार प्रतिनिधि चयनमा कनिष्ठलाई स्थान दिइएको, पूर्वमाओवादी नेता कार्यकर्तालाई पार्टीमा यथोचित स्थान नदिइएको भन्दै विधान महाधिवेशनमा सहभागी नहुने निर्णय गरिएको हो । माओवादी केन्द्रमा स्थायी कमिटी सदस्य रहेका साहलाई एमालेमा भने केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको थियो ।

त्यस्तै सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताए पनि आफूहरूले नेकपा एमालेलाई नेकपाकै निरन्तरतामा बुझेर एकताकै स्पिरिटमा कार्य सञ्चालन गर्न जोड दिए पनि पार्टी नेतृत्वबाट उक्त कार्य नभएको साहको आरोप छ ।

त्यसैगरी तत्कालीन नेकपाकै विधानअनुसार पार्टी चल्नुपर्ने पनि साहको माग छ । यसअघि असोज ८ गतेको केन्द्रीय कमिटी बैठकमा ८ बुँदे फरक मत प्रस्तुत गरेका थिए । पछिल्लो समय साह एमालेका बैठकमा जान छाडेका थिए । त्यस्तै उनी गृहजिल्ला रौतहटमा आईटी आर्मीको नाममा विभिन्न कार्यक्रममा व्यस्त रहँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्