सीमित स्वार्थ र षड्यन्त्रका कारण पार्टी एकता निष्कर्षमा पुग्न सकेन: ओली

काठमाडौं, असोज १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको निरन्तरता सहित विरासत बोकेको पार्टी भएको बताएका छन् । शुक्रबार विधान महाधिवेशनमा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

उनले एमाले र माओवादी बीच २०७३ जेठ ३ गतेको एकीकरणपछि बनेको नेकपा केही व्यक्तिका कारण एकताले पूर्णता नपाएको भन्दै अदालतको फागुन २३ गतेको फैसलाले पूर्ववत् अवस्थामा फर्काएकाले आफुहरु एमालेमा नै क्रियाशील हुनुपरेको बताए । उनले नेकपा विभाजन भएपनि एमालेले नेकपाको विरासत बोकेको बताए ।

अध्यक्ष केपी ओलीले सीमित स्वार्थ र षड्यन्त्रका कारण एकीकरण निष्कर्षमा पुग्न नसकेको बताएका छन् । नेकपा एमाले र माओवादी केन्द्रलाई अदालतले अलग गर्ने फैसला गरेपछिको अवस्थामा यो एकीकृत पार्टीको प्रथम विधान महाधिवेशन भएको उनको दाबी छ ।

विशाल योजनाका साथ भएको पार्टी एकता भंग भएको बताउँदै उनले एमाले एकीकृत पार्टीको धार भएको बताए । केही व्यक्तिहरू एमालेबाट पदलोलुपताका कारण बाहिरिएको उनले आरोप लगाए । पार्टीमाथि नयाँ घेराबन्दी भएको उनको भनाइ छ ।

उनले २०७५ जेठ ३ मा माओवादीसँग एकता नभएको भए यो विधान महाधिवेशन दुई वर्षअघि नै भइसक्ने पनि बताएका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हालै अमेरिका, बेलायत र अष्ट्रलियाबीच भएको रक्षा सम्झौताले एसिया प्रशान्त क्षेत्रमा तनाब बढाएको विश्लेषण गरेको छ ।

शुक्रबार सुरु भएको विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष केपी शर्मा ओलीले भूराजनीतिबारे विश्लेषण गर्दै ओकास भनिने सो सम्झौताले तनाब थपेको उल्लेख गरेका छन् ।

सो ओकास सम्झौता अनुसार अमेरिका र बेलायतले अष्ट्रेलियालाई आणविक पन्डुब्बी बनाउन दिने तथा अन्य रक्षा तथा सामरिक सहयोग आदानप्रदान गर्ने सहमति भएको छ । यो सम्झौताले हिन्द प्रशान्त क्षेत्रमा चीनको बढ्दो शक्तिलाई सन्तुलनमा ल्याउने अमेरिका, बेलायत र अष्ट्रलियाको जिकिर छ ।

अध्यक्ष ओलीले म्यानमार, अफगानिस्तान र भारत तथा पाकिस्तानबीचको आपसी सम्बन्धबारे पनि विश्लेषण गरेका छन् । भारत र चीनबीचको सम्बन्धले नेपाललाई पनि प्रभाव पारेको बताएका छन् । भारतसँगको सीमा विवाद समाधान गर्नुपर्ने ओलीले टिप्पणी गरेका छन् । उनले एक चीन नीति र भारतको सुरक्षा चासोमा सजग रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्