नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक : गगन थापा

 

काठमाडौं, असोज १६ । सत्तारुढ नेपाली कांग्रेसका नेता गगन थापाले नागरिकको बीचमा गएर संवाद गर्न सक्ने नेतृत्व आवश्यक भएको बताएका छन् । काठमाडौं नगरपालिकाको अधिवेशन उद्घाटन कार्यक्रममा थापाले कांग्रेसले जनतामा आशा र भरोसा दिलाउन नसकेको बताए ।

उनले कांग्रेसमा देखिएको अहिलेको यथास्थितिबादले जनताको विश्वास जित्न नसक्ने बताए । ‘आज जसरी पार्टी चलेको छ यसले कांग्रेसप्रति जनताको भरोसा दिलाउन सक्दैन’, उनले भने ।

नेता थापाले कांग्रेसभित्र सुद्धिकरण आवश्यक भएको पनि बताए । तहगत अधिवेशनले कांग्रेस सुधार गर्न भूमिका खेल्नुपर्नेमा थापाको जोड थियो । ‘कांग्रेसभित्र ठूलो सुदृढिकरण र सुधारको खाँचो छ’, उनले भने, ‘हामीलाई खुला मञ्च, सडक तथा संसद वा जनताको झुपडीमा गएर बोलेको कुरामा भरोसा दिलाउने कांग्रेस चाहिएको छ । नागरिकको टुटेको मन जोड्ने कांग्रेस चाहिएको छ ।’

नेता थापाले आउँदो तीन तहको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बनाउनुपर्नेमा उनले जोड दिए । सम्पूर्ण कम्युनिष्ट र मधेसवादी दलहरु मिले पनि कांग्रेस पहिलो पार्टी बन्ने गररी काम गर्न उनले आग्रह गरे । ‘यो अधिवेशन सकिएपछि हामीसँग संगठन बनाउन ६÷७ महिना बाँकी रहन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्