एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं, असोज १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष प्रचण्डले एमाले नेता–कार्यकर्तालाई जाली, फटाहाको संज्ञा दिँदै उनीहरुको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए ।

पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा उनले एमाले गणतन्त्र, संघीयताविरोधी रहेको भन्दै अबको डेढ वर्ष जनतामा जान पनि पार्टी पंक्तिलाई सचेत गराएका हुन् । दाहालले आफ्ना पार्टीका लडाकु कार्यकर्तामाथि एमालेले आक्रमण गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसो गरियो भने आफ्नो पार्टीले एमालेविरुद्ध देशभर प्रतिवाद गर्ने चेतावनी समेत दिए ।

‘केपीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । उनले डेढ वर्षभित्र हामी सरकारमा जान्छौं भनेका छन्,’ उनले भने, ‘देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन । यी जाल फटाहाहरुले अहिले हामीलाई हेप्न खोजेका छन् नि ! तिनको सातो खाने ।’

‘पहिले आयो है माओवादी भनेपछि जाली, फटाहा थर्ररर हुन्थे । छाती खोलेर भन्नु ओलीले ल्याएको होइन गणतन्त्र, हामीले बनाएको हो संविधान । यिनीहरु विरोधी हुन् भन्दै हिंड्नुहोस् । पार्टी कमिटी बनाउनुस्, जनतामा जानुस् । को बेइमान हो बुझाउनुस् । डेढ वर्ष आँखा चिम्लेर मिहिनेत गरौं । यो देश हामीले बचाउनु पर्छ, गणतन्त्र हामीले बचाउनु पर्छ । देशको रक्षा गर्नु पर्छ’, प्रचण्डले भने ।

प्रचण्डले केपी ओलीले छलकपटको बाटो लिएपछि उनीविरुद्ध पार्टी हेर्डक्वाटरमै बमबारी गर्नु परेको दोहोर्‍याए । उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको स्मरण गराए । उनले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा विजयी भएसँगै आफूखुशी भएको प्रतिक्रिया समेत दिए ।

प्रतिक्रिया दिनुहोस्