काठमाडौंका सात नगरपालिकामा कांग्रेसका क-कसले जिते ? (विवरणसहित)

काठमाडौं, १७ असोज १७   । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत काठमाडौंका सातवटा पालिकामा शनिबार सम्पन्न अधिवेशनकाे मत परिणाम सार्वजनिक भएको छ ।

परिणाम सार्वजनिक हुनेमा बुढानीलकण्ठ, कागेश्वरी मनाेहरा, तारकेश्वर, नागार्जुन, टोखा, शंखरापुर र गोकर्णेश्वर नगरपालिका छन् । सबै पालिकामा मतदानबाट नेतृत्व चयन भएको निर्वाचन समितिले जनाएको छ ।

बुढानीलकण्ठमा बुढाथाेकी

कांग्रेस बुढानीलकण्ठ नगरपालिकाको नगर सभापतिमा राजाराम बुढाथोकी विजयी भएका छन् । उनी एक सय ५५ मत ल्याई विजयी भएका हुन् । बुढाथाेकीका प्रतिस्पर्धी राजन बुढाथोकीले ६८ र राजुविक्रम थापाले ४८ मत पाएका छन् ।

उपसभापतिमा सानुकान्छा श्रेष्ठ र शम्भु कार्की तथा सचिवमा विजेन्द्र श्रेष्ठ र विजेन्द्र पुडासैनी विजयी भए । सहसचिवमा कुमार खड्का र निर्मला आचार्य विजयी भएको निर्वाचन समितिले जनाएको छ । विजयी सबै बुढाथाेकी प्यानलकै रहेको बताइएको छ । उनी गगन थापा निकट हुन् ।

कागेश्वरी मनाेहरामा दाहाल

कागेश्वरी मनाेहरा नगर सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । सभापति शेरबहादुर देउवानिकट दाहाल एक सय ५१ मत पाएर विजयी भएको कांग्रेस काठमाडौंका कोषाध्यक्ष गोविन्द पुडासैनीले जानकारी दिए । उनका प्रत्यासी नेता प्रकाशमान सिंह निकट मिठ्ठाराम दाहालले एक सय ३८ मत पाएका छन् ।

तारकेश्वरमा महर्जन

कांग्रेस तारकेश्वर नगर समिति सभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । उनी एक सय ३५ मत प्राप्त गरी विजयी भएका हुन् । महर्जनका प्रतिस्पर्धी श्रीराम थापाले एक सय १४ मत ल्याए । महर्जन कांग्रेस नेता भीमसेनदास प्रधान निकट र थापा कांग्रेस प्रकाशमान सिंह निकट हुन् ।

उपसभापतिमा जमुना तिमल्सिना र नवराज अर्याल विजयी भएका छन् । तिमल्सिनाले एक सय २३ र अर्यालले एक सय २५ मत पाए । सचिवमा राजु फुयाँल र शंकर तिमल्सिना विजयी भएका छन् । सहसचिवमा अप्सरा खड्का र सरस्वती पौडेल विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

शंखरापुरमा श्रेष्ठ

कांग्रेस शंखरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठ विजयी भएका छन् । खसेको एक सय ५७ मतमध्ये उनले ८६ मत प्राप्त गरे । उपसभापति मिलन खड्का र अमित प्रधान विजयी भएका छन् । सचिवमा रनबहादुर तामाङ र स्वयम्भूलाल श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ सिंह निकट हुन् ।

टोखामा विमली
कांग्रेस टोखा नगर सभापतिमा ओम विमली विजयी भएका छन् । उनी एक सय १७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी दीपक जोशीले एक सय ६ मत प्राप्त गरे । उपसभापतिमा ऋषिराम अर्याल र मनराज अधिकारी, सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल तथा सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति श्रेष्ठ निर्वाचित भएका छन् । विमली कृष्ण सिटाैला पक्षका हुन् ।

गाेकर्णेश्वरमा लामा

कांग्रेस गोकर्णेश्वर नगर सभापतिमा कुमार लामा विजयी भएका छन् । लामा एक सय नौ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी, रामजी श्रेष्ठले ९३ मत प्राप्त गरे । उपसभापतिमा विकास श्रेष्ठ र बच्चु ढुंगेल, सचिवमा जयराम विष्ट र रमेश रिजाल तथा सहसचिवमा अशोक नेपाल र गोकुल सिम्खडा निर्वाचित भएका छन् ।

नागार्जुनमा गौतम

नागार्जुन नगर सभापतिमा दुर्गा गौतम विजयी भएका छन् । शनिबार भएको नगर अधिवेशनबाट उनी सभापतिमा विजयी भएका हुन् ।

११ वटा पालिकामध्ये काठमाडौं महानगरमा नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि मतदान जारी छ । कीर्तिपुर र चन्द्रागिरिमा सहमतिको प्रयास जारी रहेको नेताहरूले बताएका छन् । दक्षिणकाली नगरपालिकामा भने वडा नम्बर २ को वडा अधिवेशन नै सम्पन्न हुन नसकेकाले पालिका अधिवेशन अनिश्चित बनेको छ ।

प्रतिक्रिया दिनुहोस्